काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री भीम बहादुर रावलले सत्ता स्वार्थ र कुर्सी मोहका कारण महन्थ–महतो गुटलाई खुशी पार्न प्रधानमन्त्री केपी ओलीले नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाएको आरोप लगाएका छन् ।
आफ्नै कारणले कामचलाउ हैसियतमा पुगेको सरकारले नागरितासंम्बन्धी विधेयक राज्यव्यवस्था समितिको प्रतिवेदनसहित संसदमा पेश भइसकेको अवस्थामा अध्यादेश जारी गरिएकोमा खेद प्रकट गरेका छन् ।
‘संसदमा पेश भएको नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिने ओली आफैले आम निर्वाचन घोषणा गरिसकेको अवस्थामा नागरिकतासम्धन्धनी अध्यादेश ल्याउनु आपत्तिजनक छ’, रावलले भने ।
‘अध्यादेशमा नेपालको अस्मिता र दीर्घकालिन अस्तित्वसंग गाँसिएका विधेयकमा उल्लेखित विषयहरु अध्यादेशमा समेटिएका छैनन्’, सोमबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले भने, ‘यो राष्ट्रहितप्रति व्यवास्ता गर्ने र सत्तास्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाति प्रवृत्तिकै द्योतक हो ।’
मन्त्रिपरिषद् निर्णय कार्यान्वायन गर्दै आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक विधेयकसम्बन्धी अध्यादेश जारी गरेपछि सरकारको चौतर्फी विरोध भएको छ ।