काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको बेथिति विरुद्ध लड्न वैकल्पिक शक्तिको आवश्यकता भएको बताएका छन् । राप्रपा काठमाडौं महानगरद्वारा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भने, ‘अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी ,धर्म परिवर्तन, कुशासन र सर्वसत्तावाद हो । यसको निमित्त लड्न सक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको छ ।’
थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीमा कारण मुलुक अस्थिरताको दलदलमा फसेको समेत स्पष्ट पारे । थापाले संवैधानिक अंगका प्रमुखहरु माथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्था माथि प्रश्न चिन्ह खडा भएको बताए ।