काठमाडौं । तीन दिने जिल्ला दौडाहामा निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
बुधबार सल्यान पुगेका प्रचण्डले एक कार्यक्रममा ओलीले संसद् विघटन गरेर विदेशी शक्ति समक्ष आत्मसमर्पण गरेको आरोप लगाएका हुन्।
‘ओलीले संविधान च्यात्ने र कम्युनिस्ट पार्टी विघटन गर्ने कार्यमा उद्धत छन्‘, उनले भने, ‘केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना भाँचकुच पारेर विदेशी शक्तिसामु आत्मसमर्पण गरे ।’
त्यस्तै, नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाप्रति उनले असन्तुष्टि जनाए।
मधेशका जनतालाई पनि लोकतान्त्रिक निर्वाचन ल्याएको र आफैंले देशमा सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको पनि जिकिर गरे। यसरी आफूले देशमा राजनीतिक अस्थिरता नहुने सपना देखेको पनि बताए।
देश समृद्धिको बाटोमा लैजाने आफ्नै सोच रहेको उनले जिकिर गरे। उनले आफ्नै प्रस्तावमा देशमा कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव ल्याएको दाबी दोहोर्याएका थिए। देशलाई विकासको बाटो लैजाने सपना पनि आफैंले देखेको उनले बताए। किसानको पक्षमा परिवर्तन ल्याउने पनि आफूले नै सपना देखेको उनले बताए।