काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि भएको कारबाहीको भत्सर्ना गरेको छ ।
शुक्रबार दिउँसो कलंकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले आफ्नो पक्षको थप दुईजना नेतामाथि भएको कारबाहीको विरोध गरेको छ । केपी शर्मा ओलीले अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक हो भन्दै बैठकले निन्दा गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।
नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको बताइएको छ ।
बैठक अहिले पनि जारी छ ।