काठमाडौं। होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका-१० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ। कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी घटना योजनाबद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका हुन्।
प्रवक्ता शर्माले भनेका छन्, ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।’
आइतबार होली मेलामा जम्मा भएका युवाहरूको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो। घटनामा मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन्।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडपभएको थियो। आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए।
‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।’