स्याङ्जा—४, चैत्र,
नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापा चैत्र ५ गते स्याङ्जा आउदैछन् । थापा सगै नेपाल तरुणदलका अध्यक्ष जितजंग बस्नेत पनि स्याङ्जा आउने तय भएको छ ।
नेपाल तरुणदल भीरकोट नगर समितिले आयोजना गर्न लागेको विशाल आमसभालाई सम्वोधन गर्न थापा र बस्नेत आउने भएका हुन् । पछिल्लो राजनीतिक अवस्था र काँग्रेसको भावी रणनीतिका बारेमा थापाले सम्वोधन गर्ने तरुणदल भीरकोट नगर अध्यक्ष राजकुमार गुरुङ्ले बताए । भीरकोट नगरपालिका १ सिसौघारीमा हुने आमसभाको तयारी पुरा भएको गुरुङ्ले बताए । ११ स्थानीय तह र ९७ वडामा नेपाली काँग्रेस सहित भातृसंघ संस्थालाई पत्राचार र प्रचारप्रसारको जिम्मेवारी सहित आमसभाको तयारी भएको गुरुङ्को भनाई छ ।
दुई साता अगाडी आमसभाका लागि मिति तय गरेको तरुणदल भीरकोटले तरुणदललाई समेत प्रशिक्षण दिने बताइएको छ । यस आमसभालाई सफल बनाउन नेपाल तरुणदल स्याङ्जा, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायत सबै भातृ संघसंगठन आ—आफ्नै ढङ्गका साथ अगाडी बढेको छ । जिल्लाका वडा देखि नगर, प्रदेश र क्षेत्रका सभापतिहरु लाई समेत आमसभालाई सफल बनाउन नेपाली काँग्रेस स्याङ्जाले आग्रह गरेको छ । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापा पछिल्लो समय समसामयीक बिषयमा प्रष्ट बिचार राख्न सक्ने युवा नेताका रुपमा परिचित भएकाले थापाले देशको वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी गराउने विश्वास लिइएको छ ।