कास्की । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड र ओलीले जस्तो ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको बताएका हुन् । उनले भने, ‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’
कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उनले बताए । ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे उनले भने ।
प्रधानमन्त्री केपी ओलीले हठात् संसद् विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको देउवाको भनाइ थियो ।