काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेपनि प्रचण्ड–नेपालको सपना पूरा हुन नदिने बताएका छन् ।
राजधानी काठमाडौंमा ओली पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म मर्छु तर उहाँहरूको आकांक्षा पूरा हुन दिन्न । चुनाव हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’
ओलीले प्रचण्ड–नेपाल पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भूइँमा बसेर रमिता नदेखाउनुहोस्,’ ओलीले सुझाव दिए ।
पार्टीलाई एकढिक्का राख्न अनेकौं त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको ओलीको आरोप छ । ‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरें । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर उहाँले सहमति कार्यान्वयन गर्नुभएन,’ उनले भने ।
ओलीले एकता गर्नका लागि पूर्व माओवादी पक्षलाई ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर उहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो, जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो,’ ओलीले भने, ‘मैले मित्रताले अँगालो हालें, उहाँले ध्रीतराष्ट्रले जसरी हाल्नुभयो । शुरूदेखि उहाँको ध्यान पार्टी कब्जा गर्ने र हत्याउनेमा नै रहेछ ।’
आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप छ । ‘३ वर्षमा मेरो धेरे साबुन, स्याम्पु र ट्यांकरको पानी सकियो । उहाँहरू सुध्रिनुभएन,’ ओलीले भने ।
ओलीले संसद पुनःस्थापनाको सम्भावना नरहेको जिकिर गरे । प्रचण्ड–नेपालले पक्षले आफूसँग बहुमत भएको दाबी गरे पनि उनीहरूको बहुमत नभएको ओलीको भनाइ थियो ।