८ पुष, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताएका छन ।
नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितीको बैठकको दोश्रो दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रवक्ता शर्माले संसद विघटनको कदमको प्रतिरोध गर्ने बताएका हुन ।
`पुस ५ गते संसद विघटनपछि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेपाली कांग्रैसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद विघटनको कदमलाई असंवैधानिक भनी ठहर गरिसकेको स्मरण गराउँदै कांग्रेस सो निर्णयको विरुद्धमा उत्रिने बताए । उनले बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको पनि जानकारी दिए ।
बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ ।