वालिङ, ८ असोज ।
अबिरल बर्षाका कारण स्याङ्जा वालिङ नगरपालिका वाड नं १४ तमादीमा पहिरोले घर पुरिदा चार जनालाई मृत अवस्थामा उद्दार गरिएको छ । ४५ वर्षिय माया नेपालीको घर पहिरोले पुरिदा उनको ९ जना परिवार घर भित्रै रहेको अनुमान लगाइएको छ ।
घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङको प्रहरी टोली, सशस्त्र प्रहरी, वालिङ नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधि र स्थानीयले उद्दार गरिरहेका छन् ।
पहिरोमा परि मृत्यू हुनेमा वर्ष ४५ की माया नेपाली, वर्ष २८ का दिपक नेपाली, वर्ष ६० का स्यानी नेपाली र वर्ष १२ का विक्रम नेपाली रहेका छन् । अन्य ५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिए । १० जनाको परिवार रहेकोमा एक जना वर्ष १७ की मनिशा नेपाली लाई जीवितै उद्धार गरी उपचारका लागि गहौं ध्याङलिङ अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ ।
घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ । घटनास्थलमा ठूलो भिड लागेको छ । भने घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्री, प्रहरी प्रमुख होविन्द्र वोगटी सहितको टोली जाँदै गरेको समेत समाचार प्राप्त भएको छ ।