पोखरा, असार २६ ।
कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् ।
पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।
थापाको घर पहिरोमा पर्दा थापासहित उनकी श्रीमती सोममाया, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।बाँकीलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिए ।
राती जन्मदिन मनाउन अरु पाहुनासमेत आएकाले घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन । हराइरहेको आशंकामा प्रहरीले खोजी जारी राखेको छ ।
त्यसैगरी पोखरा २५ हेम्जामा रामचन्द्र अधिकारीको घर पछाडीबाट आएको पहिरोमा परी उहाँकी ७० वर्षीया आमा हिमकला अधिकारीको मृत्यु भएको छ ।
अर्कातर्फ पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर मृत्यु भएको खबर छ ।
म्याग्दीमा १० जनाको मृत्यू
म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बाढी पहिरोमा परेर मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको मृत्यु भएको हो ।
ढकालका अनुसार धवलागिरी–६, मराङमा बाढी पहिरोमा परेर १२ जना बेपत्ता भएका छन् । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए ।अविरल वर्षापछि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पुर्याएको छ भने वस्ती जोखिममा परेको छ ।