स्याङ्जा-१३, असार ।
के तपाई सिद्धार्थ राजमार्गमा मोटरसाईकल वा साना सवारी साधनमा यात्रा गर्नुभएको छ भने पहिला आफ्नो नम्वर प्लेट हेरेर मात्रै यात्रा थालनी गर्नुहोला ।
सवारी साधनको नम्वर प्लेट जोर भए जोर दिन र विजोर भए विजोर दिनमात्र आफ्नो सवारी साधन प्रयोग गर्न सरकारको निर्णयलाई यतिवेला स्याङजामा कडाईका साथ लागु गरिएको छ । कोरोना संक्रमणको खतरा झन जटिल अवस्थामा पुगेकोले बजारमा भिडभाड हुन नदिन सरकारले लागु गरेको जोर विजोर प्रणालीलाई कडाइका साथ लागु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
लामो समयको लकडाउनवाट नागरिकलाई असहज भएपछि सरकारले लकडाउनको मोडेल परिवर्तन गरेको बेला जिल्लाका साना ठूला बजारहरुमा साना सवारी साधनको भिडभाड वढ्दा संक्रमणको जोखिम वढने भएकाले सरकारले लागु गरेको जोर विजोर प्रणालीलाई कडाई गर्न जिल्लाका ट्राफिक युनिटलाई निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विमलराज कणेलले जानकारी दिए ।
सरकारले तोकेका अत्यावश्यक सेवा, खाद्यान्न ढुवानी र प्रशासनवाट अनुमति प्राप्त सवारी साधन वाहेक जिल्ला भित्र चल्ने साना निजि सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सवारी चलाउन अनुमति दिइएको र उलंघन गर्ने सवारीलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
पहिलो चरणमा जोर विजोरको बिषयमा सवारी धनीलाई सम्झाउने काम गरेका छौं प्रहरी प्रमुख कणेलले भने,“दोस्रो चरणमा सम्झाउदा पनि अटेरी गर्नेलाई जरिवाना सहित कारवाहि थालेका छौं ।” नागरिकमा लकडाउन पुर्णरुपले खुलेको आभास भएको छ त्यसलाई बुझाउन पनि यो अभियानलाई तिब्रता दिएका हौ उनले भने ।
जिल्ला सदरमुकाम पुतलीबजार, वालिङ, गल्याङ र भीरकोट नगरपालिका लगायत ग्रामिण क्षेत्रमा पनि ट्राफिकले सवारी चापलाई रोक्न चेकजाचलाई सक्रियता दिएको छ ।
जोर विजोर प्रणालीमा ट्राफिकको सक्रियता सगै सडकमा केही हदसम्म सवारी चाप कम भएको ट्राफिक प्रहरी कार्यालय वालिङका प्रमुख लोकराज भण्डारीले बताए । बढ्दो सवारी चापले समुदायमा कोरोना संक्रमण फैलिन सक्छ भन्ने समस्या प्रति हामी सचेत रहेर सेवा प्रवाह गरेको भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार असार १ गते देखि नीजि साना ठुला गरेर ६३ सवारी साधन लाई कारवाही गरिएको छ ।