स्याङ्जा, १४ माघ ।
जिल्लाको गल्याङ नगरपालिका स्थित गल्याङ बजारमा यतिवेला दुई वटा व्यापारिक संस्थाले छुट्टाछुट्टै मेला महोत्सव आयोजना गरेपछि व्यापारिहरु विच ति मेला महोत्सव निकै चर्चाको विषय बन्न पुगेको छ ।
जिल्लाको तेस्रो व्यापारीक केन्द्रको रुपमा परिचित गल्याङ बजारमा रहेको उद्योग वाणिज्य संघले आफ्नो नियमित वार्षिक कार्यक्रम अन्तरर्गतको महोत्सवको आयोजना गर्न लाग्दा भर्खर स्थापना भएको चेम्वर अफ कमर्सले पनि सोही महिनामा महोत्सव आयोजना गर्न अनुमति लिइदा अहिले निकै चर्चाको विषय बन्न पुगेको हो ।
व्यापारिहरुको हक र हितका लागि स्थापित दुवै संस्थाहरुको उद्देश्य एउटै भएपनि संस्थागत प्रतिस्पर्धा झल्काउने गरी फरक फरक हिसावले महोत्सवको तयारी गर्दा व्यापारिहरुले भने चिन्ता व्यक्त गरेका छन् । मेला महोत्सवका नाममा ठूलो रकम बाहिरिने र स्थानीय व्यापारीहरुको व्यापार व्यवसाय चौपट हुने भन्दै बजारका व्यापारिहरु महोत्सव प्रति सकारात्मक देखिएका छैनन् ।
विगतमा स्याङ्जामा मेला महोत्सव आयोजना गर्ने संस्थाहरुको समन्वयमा वर्षमा एक दुई मेला आयोजना हुने गरिएको थियो । जसका कारण सबै महोत्सव सफल भइरहेका थिए भने अहिले जिल्लाका टोल टोलमा स्थानीय सरकारको अनुमतीवाट सन्चालन गर्न पाउने भएपछि मेला महोत्सव गर्ने होडवाजीले महोत्सवको रौनकता र महत्व समेत घटेको छ ।
अहिले सम्म जिल्लाका विभिन्न क्षेत्रमा आयोजना भएका मेला महोत्सवले स्थानीय स्तरमा कुनै फाईदा दिन सकेको छैन् । महोत्सवका कारण बजारमा व्यापारिहरुको व्यापारमा हुने मन्दी र तडक भडक र मनोरञ्जनका नाउँमा ठूलो धनराशी वाहिरिएको प्रति व्यापारिहरु भने चिन्तित देखिएका छन् ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले नगरपालिकाले समन्वय गरेर एउटा मात्रै महोत्सव आयोजना गर्न स्विकृती दिनुपर्नेमा दुवै संस्थालाई एक महिना को अन्तरालमा अनुमती दिनु गलत भएको धारणा व्यक्त गरे । उनले भने, “नयाँ कार्यसमिति आएपछि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भनेर स्थानीय सरकारबाट स्विकृति लिनलाई निवेदन दियौ भर्खर गठन भएको संस्थालाई अगाडी र हामीलाई पछाडी गर्ने अनुमति दियो ।” स्थानीय सरकारनै हामी विच अस्वस्थ प्रतिस्पर्धा गराउन उद्दत रहेको आरोप लगाए ।
गल्याङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट बचेको रकमले बजारमा सिसि क्यामेरा र प्रतिक्षालय बनाएको दावी अर्यालको छ ।
उद्योग वाणिज्य संघले चैत्र २१ गते देखि वैशाख २ गते सम्म तेस्रो गल्याङ् महोत्सव गर्दै छ भने चेम्वरले माघ १६ देखि २६ गते प्रथम गल्याङ् कृषि नगर महोत्सव आयोजना गर्ने तयारीमा जुटेको छ । चेम्वरले भने कृषि महोत्सव भएको दावी गरेको छ ।
स्थानीय उत्पादन भन्दा पनि बाहिरी सामाग्रीले प्रथामिकता पाउने भएपछि ठुलो धनराशी बाहिरी ने सम्भावना धेरै छ । दुई ओटा महोत्सवले गल्याङ् बजारका व्यवसायी ठुलो मर्कामा पर्ने अवस्था सिर्जना भएको छ । उद्योग वाणिज्य संघले भने व्यवसायीको परामर्स पछि मात्रै महोत्सव संचालन गर्ने जनाएको छ । चेम्वर भने व्यवसायी सगँ कुनै परामर्श नगरी महोत्सवको तयारीमा जुटेको छ । आफु खुशी र आफ्ना निकटका व्याक्ति हेरेर स्विकृति दिने स्थानीय निकायका जनप्रतिनिधिको यस्तो प्रचलनले आर्थिक संकट ल्याउन सक्ने अनुमान गरिएको छ ।
प्रतिष्ठाको लडाई लडिरहेका दुई व्यापारी संस्थाहरुलाई महोत्सव आयोजना गर्न अनुमति दिएपछि दुवै संस्थालाई एउटै वनाउनु पर्छ भन्नेहरु पनि जुर्मुराउन थालेका छन । बजारमा एक महिनाको अन्तरालमा महोत्सवको आयोजना गर्ने तयारी गरिरहेका व्यवसायीहरुले मिति घोषणामा एकले अर्कोलाई उछिनेर अघि बढ्न थालेपछि दुवै महोत्सवका नाममा व्यवसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा हुंदा शान्ति सुरक्षामा समेत चुनौती हुने सुरक्षा अधिकारीहरुको बिश्लेषण छ । एकातिर महोत्सवको नाममा आयोजक संस्था घाटामा जाने अवस्था बढ्दै गएको छ भने एउटै समयमा दुईवटा महोत्सवको आयोजना गर्दा हुन सक्ने खतराहरुको अहिले पुर्व समिक्षा समेत गर्न थालिएको छ ।
अहिले जिल्लामा जिल्ला उद्योग वाणिज्य संघले छैटांै स्याङ्जा महोत्सव सम्पन्न गरेको छ भने सुन्तलावारी होमस्टे, वालिङमा वण्डफुल वालिङको पर्यटन मेला जारी रहेको छ । फागुन १ गतेदेखि भीरकोट उद्योग वाणिज्य संघले महोत्सवको तयारी तिब्र पारेको छ ।
मेला-महोत्सवका कारण स्थानीय बजारमा पार्ने प्रभावको मुल्याङ्कन नगरी स्थानीय तहलाई अधिकार छ भन्दैमा अनुमति प्रदान गर्नु गलत रहेको जानकारहरुले वताएका छन् । भने अर्को तर्फ मेला र महोत्सवले ल्याएको विकृतिका कारण समाजमा पर्ने अषरहरु र ठूलो धनराशी वाहिरिने प्रचलनलाई रोक्न स्थानीय सरकार र स्थानीय प्रशासनको उदासिनताका कारण मेला र महोत्सवमा पनि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको व्यापारिहरुको गुनासो रहेको छ ।