वालिङ, १० माघ ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्दनका लागि आयोजना गरिएको प्रथम वालिङ रमाइलो मेला विहिवारवाट शुरु भएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजनामा बिहीबारदेखि १९ गतेसम्म मेला सन्चालन हुने छ ।
रमाईलो मेलाको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले उद्घाटन गर्दै वालिङ तथा आसपासमा पर्यटकीय संभावना बोकेका स्थलहरुको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन मेलाले टेवा पु¥याउने बताएका थिए ।
“सकारात्मक सोंचका साथ सबैजना एकताबद्ध भएर अगाडि बढ्यौं भने विकास धेरै टाढा छैन” नगर प्रमुख खाँणले भने, “युवाहरु आबद्ध रहेको वण्डरफूल वालिङ नामक संस्थाले पर्यटन प्रवद्र्धनमा रमाईलो मेलाको आयोजना गरेर महत्वपूर्ण भूमिका खेलेको छ ।”दश दिनसम्म सञ्चालन हुने मेलालाई सफल बनाउँदै यस क्षेत्रको आर्थिक स्तर उकास्ने गरी मेलालाई विकसित गर्नपनि नगर प्रमुख खाँणले सुझाव दिए ।
वालिङ तथा समग्रमा स्याङ्जा जिल्ला लोक संगीतको उर्वर भूमि रहेको उल्लेख गर्दै नगर प्रमुख खाँणले भने, “लोकसंगीतबाट प्राप्त उर्जाको सही प्रयोग गरी सकारात्मक सोंचका साथ अगाडि बढ्नु आवश्यक छ ।”
उद्घाटन समारोहमा नगर उपप्रमुख कल्पना तिवारीले भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आयोजना गरिएको मेलाको सफलताको शुभकामना ब्यक्त गर्दै आयोजकले राखेका उद्धेश्यहरु पूरा हुनेमा विश्वस्त रहेको बताइन् ।
उद्घाटन समारोहमा सकारात्मक सोंचका अभियान्ता कर्ण शाक्य, नेकपा जिल्ला सचिवालय सदस्य उदय श्रेष्ठ, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । वण्डरफूल पर्यटन विकास संस्थाका अध्यक्ष दिनेश तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
अन्य ब्यापारिक मेला महोत्सव, रमाईलो मेलाहरु भन्दा यो मेलालाई छुट्टै उत्सवको रुपमा लिइएको मेला आयोजक समितिका संयोजक आशिषप्रताप खाँणले बताए ।
महोत्सव उद्घाटन पूर्व साहसिक खेलकूद (प्याराग्लाइडिङ), साँस्कृतिक झाँकीहरुको प्रदर्शनी, साईकल ¥याली, पञ्चेबाजा, नौमति बाजा प्रतियोगिता, वालिङ तथा स्याङ्जा जिल्लामा उत्पादन भएका कृषिजन्य, पशुजन्य तथा घरेलु र कुटिर उद्योगहरुबाट उत्पादित हस्तकला तथा अन्य सामनहरुको प्रदर्शनी गरिएको थियो ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि, पशु, हस्तकला, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, विभिन्न जातजातीका खानेकुराका परिकारहरु गरी कूल एकसय ५० वटा स्टल रहेका आयोजकले जनाएको छ ।