स्याङ्जा, २ माघ ।
पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया सुनिता पौडल एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् ।
हस्पिटलका डा. महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएकी उनको शल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डेले जानकारी दिए। पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।
डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।
सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ। मणिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ। ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।
यसअघि काठमाडौंको सिनामंगल अस्पतालमा पनि खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्।