काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले एकलौटीरुपमा गरिएको महाधिवेशनको मिति घोषणालगायतका निर्णयहरु नसच्याए जुनसुकै कदम चाल्ने चेतावनी दिएका छन् ।
बिहीबार अपराह्न कांग्रेस मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनीहरुले विधानसम्मतरुपमा अघि बढ्न सभापति शेरबहादुर देउवालाई परामर्शपत्र बुझाएको बताए ।
पत्रकार सम्मेलनमा काभ्रे कांग्रेसका सभापति मधु आचार्यले सभापति देउवाले सहमतिमा अघि बढ्ने प्रतिबद्धता जनाएको भन्दै त्यसो नभए आफूहरुले जुनसुकै कदम चाल्ने बताए ।
उता, कांग्रेस युवा नेता प्रदीप पौडेलले पनि पार्टी विधानसम्मतरुपमा अघि नबढे गम्भीर दुर्घटना हुने चेतावनी दिएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तीन दिनसम्म सानेपामा आयोजना गरेको भेलामा ७७ मध्ये ४६ जिल्लाका सभापतिहरु सहभागी भएको जनाइएको छ ।
सो भेला सकिएपछि बिहीबार जिल्ला सभापतिहरुले पार्टी सभापति देउवासित उनकै निवास बूढानीलकन्ठमा भेटवार्ता गरेका थिए ।