काठमाण्डौ, १६ पौष ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापती शेरबहादुर देउवालाई गुटको राजनीति त्यागेर सिंगो पार्टीलाई एक बनाउन आग्रह गरेका छन् ।
डा।कोइरालाले सभापति देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन आग्रह गर्दै गुट–उपगुटले पार्टीलाई कमजोर बनाउने भएकाले पुनः छलफल गरेर महाधिवेशनको मिति निर्धारण गर्न सुझाव दिएका छन् ।
४४औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा। कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोक्नु दुर्भाग्य भएको र कांग्रेस पार्टीको ईतिहाँसमा यस्तो अहिलेसम्म नभएको बताए ।
शेरबहादुर देउवा सिंगो पार्टीको नभई गुटको सभापती बनेकाले समस्या आएको उनको आरोप थियो । सभापतीकै कारण भातृ एवं शुभेच्छुक संगठनहरू लथालिंग भएकाले यसलाई तत्काल सुधार गर्न पनि उनले माग गरे ।
वाइडबडी र यति होल्डिङ्सजस्ता सरकारले गरेको संस्थागत भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउँन नसकेको उनले स्वीकार गरे ।
विज्ञप्ति निकालेर मात्रै नपुग्ने भएकाले सरकारले गरेको संस्थागत भ्रष्ट्रचारको विरुद्धमा देशव्यापि आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो । डा. कोइरालाले आफू कांग्रेस पार्टीलाई मजबुत बनाउँने अभियानमा लागेकाले कसैसँग आग्रह र पूर्वाग्रह नराखेको स्पष्ट पारे ।
कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको उनले बताए । उनले कांग्रेसलाई अती राष्ट्रबाद र उग्रराष्ट्रबाद कुनै पनि हालतमा स्वीकार्य नहुने प्रष्ट पारे ।
सरकारले प्रतिपक्षलाई दबाउँने, कर्मचारीलाई समायोजनका नाममा तर्साउँने, अध्यादेश मार्फत नागरिक र प्रेसका संवैधानिक हक–अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने, सुरक्षा अंगमाथि नियन्त्रण राख्ने जस्ता सर्वसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथि खत्तरा बढेको उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले विधान मिचेर जथाभावी गर्न सभापतीलाई छुट नभएको बताए ।