वालिङ, ७ पौष ।
वालिङ नगरपालिका वडा नम्वर ५ पित्लेकमा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम शुरु भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत कृषकहरुका लागि तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्वर ५ का अध्यक्ष ढाकाराम पंगेनीले व्यवसायीक बन्न चाहने कृषकहरुका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताए । उनले भने, “नगरपालिका कृषकको पक्षमा छ ।” तालिममा सिकेका कुरालाई व्यवाहारमा उतार्न र व्यवसायीक कृषक बन्न पंगेनीले आग्रह गरेका थिए ।
कार्यक्रमको बारेमा जानकारी दिदै परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कृषक र उद्यमीको हितमा नै नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कृषक तथा उद्यमीलाई तालिमसँगै आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अगाडी वढेको जानकारी दिए ।
तालिममा वालिङ नगरपालिकाका कृषि शाखा प्रमुख केश बहादुर थापा, कस्तुरी अस्लामी थापा लगायतले प्रशिक्षण दिएका थिए । जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्दघाटन कार्यक्रममा स्वागत हुमकान्त लामिछानेले र सञ्चालन कृषि प्राबिधिक स्वयंसेवक राजेन्द्र प्रसाद लामिछानेले गरेका थिए ।