भवानी अधिकारी
स्याङजा, १ पौष ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कफी सुपरजोन कार्यक्रम अन्तरगत पहिलो चरणमा कफी खेती हुने क्षेत्र निर्धारण गरिएको छ । गुल्मीको तम्घासमा रहेको जोनको कार्यालयले अर्घाखाँची, पाल्पा, प्युठान, स्याङजा र गुल्मी गरी पाँच जिल्लामा कफी विस्तार गर्ने भएको छ ।
कार्यक्रमको जानकारी सहित अन्तरक्रिया कार्यक्रम स्याङ्जाका पालिकामा सुरु गरिएको छ । कफी सुपरजोन परियोजना कार्यान्वयन इकाई गुल्मीको आयोजनामा आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यक्रम सार्वजनिक एवं स्थानीय तहबीच अन्र्तक्रिया गरिएको हो ।
कफी सुपरजोन परियोजना कार्यान्वयन इकाइ गुल्मीका प्रमुख उमानाथ भण्डारीले पाँच जिल्लालाई कफी सुपरजोन निर्माण गर्ने उद्देश्य रहेको जानकारी गराउदै कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले किसानलाई ब्यावसायिक कफी खेती गर्न सुझाव दिदै कफी ब्यवसायी किसानलाई कफी बिरुवा, यान्त्रिकरण, मल लगायत आवश्यक पर्ने तत्वहरुमा राज्यले ५० प्रतिशत अनुदानको ब्यवस्था गरेको बताउदै आफना पाखाबारीमा कफीका बिरुवा रोपणगरी आर्थिकोपार्जन गर्न आग्रह गरेका छन् ।
जोन प्रमुख भण्डारीले कफीको लागि सम्भावना रहेका पाँच जिल्लावाट परियोजना सुरु भएको वताउदै यि जिल्लाका सबै गाउँ वस्तीमा कफी खेती हुने बताए । ‘नेपालको कफी विदेशमा निर्यात भएकाले बजारको समस्या छैन,’ उनले भने, ‘मुल्य कफी बोर्डले तोकेको छ ।
अब धेरै किसानलाई आबद्ध गराउने र बाँझा जग्गामा कफी बगैचा बनाएर विदेश जाने युवालाई यही स्वरोजगार बनाउने हो ।’ पा“च जिल्ला मध्ये सबै जिल्लामा कफी खेतीको राम्रो संभावना भएको उनले बताए । पहिलो चरणमा क्षेत्र निर्धारण गर्ने, किसानलाई कफी लगाउने, फलाउने मल, जल र बगैचा व्यवस्थापनको तालिम एवं तरिका सिकाइन्छ । गबारो लगायतका रोग नियन्त्रणका उपायबारे तालिम दिन प्राविधिक गाउँ–गाउँमा जान्छन, उनले भने ।
आर्थिक बर्ष २०७३ देखि २०८२ सम्म १० बर्षे संचालित परियोजना स्याङजाका ११ वटै पालिकासंग समन्वयगर्दै कफी ब्यवसायलाई प्रवद्र्धन एवं परम्परागत कफी खेती प्रणालीलाई ब्यवसायिक कफी खेती प्रणालीमा रुपान्तरण गर्ने परियोजनाको लक्ष्य रहेको उनले जानकारी दिए ।
कार्यक्रममा पुतलीबजार नगरपालिका आर्थिक समिति संयोजक बाबुकाजी जीटी, कफी परियोजना ब्यवस्थापन समितिका सदस्य फणिनारायण अर्याल लगायतले जिल्लामा कफीको हालको अवस्थाको वारेमा जानकारी दिएका थिए ।
जिल्ला समन्वय समिति स्याङजाका सदस्य सीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कफी ब्यवसायी संघ स्याङजाका अध्यक्ष ख्यामनारायण शर्माले स्वागत एवं कफी ब्यवस्थापक माया तिवारीले संचालन गरेकी थिइन् ।
स्याङजामा पाँच पालिकामा कफी खेती
सुपरजोन अन्र्तगत गतबर्ष पाँच जिल्लाका १९ स्थानीय तहका सात सय ६७ हेक्टरमा कफी खेती गरिएको थियो भने एक सय ५२ मेट्रिक टन कफी उत्पादन भएको थियो । स्याङजाका पुतलीबजार र वालिङ नगरपालिका तथा बिरुवा, फेदिखोला र अर्जुनचौपारी गाउपालिकामा परियोजना लागु भएको छ ।
नगदे बालिका रुपमा रहेको कफी खेती स्याङजाका तिन सय १६ हेक्टरमा, गुल्मीमा एक सय ६३ हेक्टरमा, अर्घाखाचीमा एक सय ३५ हेक्टरमा, पाल्पामा एक सय २२ हेक्टरमा र प्यूठानमा ३१ हेक्टर जमिनमा कफी खेती गरिएको छ । किसानले समूह, सहकारी, नीजि रुपमा समेत कफी लगाउदै आएका छन् । पाँच जिल्लामा गरी २८ वटा समूह सहकारी र नीजि सहितगरी सुपरजोनमा सात सय ८६ जना कफी कृषक परियोजनामा आवद्ध रहेका छन् ।