माया कँडेल/गैंडाकोट ।
खानेपानीको सहज उपलब्धता नहुँदा गैंडाकोट १८ का स्थानीयको दैनिकी कष्टकर बनेको छ । वर्षायाममा केही सहज भएपनि यतिबेला भने सहज आपूर्ति नहुँदा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।
पानी लिनका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ । मुहानमा पानी कम हुनु, जनसंख्या, वृद्धि भौगोलिक अवस्थाका कारण असहज भइरहेको स्थानीयको भनाइ छ । गैंडाकोट १८ को हरेक टोलमा खानेपानीको समस्या देखिएको आहाले टोल विकास संस्थाका अध्यक्ष टुनबहादुर आलेले वताए । उनी भन्छन्–“पानी पिउनलाई लाइन बस्नुपर्छ । नेताहरु आउँछन् गर्छु भन्छन् तर कहिले हो थाहा छैन ।”
स्वच्छ र स्वस्थ खानेपानीको अभाव झेलिरहेका स्थानीयले पिउने पानीकै लागि कुवा र खोलो धाउनुपरेको छ । पिउने पानीकै लागि समस्या झेलिरहेका स्थानीयले नुहाउन, कपडा धुन तथा गाईवस्तुलाई पानी खुवाउन त झनै अप्ठ्यारो भएको भनाइ छ । अध्यक्ष आलेले भने– “पानी खानमात्र पनि पुगेको छैन । कुवा र खोलामा पानी लिन जानुपरेको छ । गाईवस्तुको त के कुरा ?” आहालेमा ०३४ / ३५ सालमा पानीको योजना ल्याएर ३२ घरका लागि खानेपानी धारा जडान गर्ने र पानी पुर्याउने काम भएपनि अहिले घरधुरीको वृद्धिसँगै समस्या थपिएको हो । अहिले यहाँ ९० देखि ९५ घर परिवारको बसोवास रहेको छ।
भौगोलिक अवस्थाका कारण खानेपानीको सहज उपलब्धता वडाभरि नै हुन नसकेको जनप्रतिनिधिको भनाइ छ । घरदेखि विद्यालयसम्म खानेपानीको समस्या रहेको वडा सदस्य टेकमाया सोतीको भनाइ छ । सबैभन्दा ठूलो समस्या नै पानीको रहेको उनी बताउछिन् । पानीको सहज उपलब्धता नहुदा सरसफाइ पनि नभएको उनको भनाइ छ । सोतीले भनिन्–“स्कुलमा पानी पिउन गाह्रो छ, पालो गरेर पानी पिउने काम मात्रै भएको छ तर सुरक्षित पानी छैन ।” पानी नहुँदा सरसफाइमा समेत कमी आएको उनले बताईन् ।
वडाको पहलले मात्र यी समस्या समाधान गर्न नसकिने भएकाले दातृनिकायसँगै नगरपालिका, प्रदेश र संघको मुख ताकेर बसेका छन् तर पनि तत्काल समस्या आउन नदिन काम भइरहेको वडाध्यक्ष तिलबहादुर चितौरे मगरको भनाइ छ । आहाले, हात्तीसार, टाडी मटकुरी, हुर्जिल, डोडे लगायतका स्थानमा खानेपानीको समस्या भएको उनले बताए । खानेपानीको समस्या समाधानका लागि प्रदेश र संघीय सरकारसँग खानेपानी योजना माग गरेको जानकारी दिए ।
बडाध्यक्ष मगरले भने – “गाउँ र विद्यालयमा आलोपालो गरेर पानी पठाउनु परेको छ । पानीको व्यवस्थापनका लागि प्रदेश सरकारसँग माग गरेका छौं ।” दिनानुदिन खानेपानीको समस्या बढ्दै गएको छ । पुस माघदेखि झनै समस्या उत्पन्न हुने उनले बताए । लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्न सकिन्छ तर त्यसका लागि आवश्यक बजेट छैन ।
खानेपानीको समस्या भोग्दै आएका स्थानीय सहज पानीको उपभोग नपाएपछि निराश छन् । स्वच्छ र स्वस्थ्य खानेपानी पिउन नपाउँदा विभिन्न समयमा विभिन्न रोग लाग्ने गरेको उनीहरुको भनाइ पनि छ ।