कला राना
वालिङ, २ मंसिर ।
रेडियो आँधीखोला १०५.४ मेगाहर्जले आफ्नो १३ औँ वर्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । यही मंसिर ६ गते १२ वर्ष पुरा गरी १३औँ वर्षमा प्रवेश गरेको शुभ अवसरमा रेडियोले तिन दिनसम्म विविध कार्यक्रमको आयोजना गर्ने भएको हो ।
मंसिर ५ गते रेडियो प्राङ्णमा सरसफाई कार्यक्रम, ६ गते रेडियो प्राङ्गणमा पूजापाठ र ७ गते स्थानीय तहका जनप्रतिनिधिहरुबीच समसामयिक विषयमा परिसंवाद कार्यक्रम गर्ने निर्णय भएको रेडियोका प्रबन्धक तोलकान्त बलालेले जानकारी दिए ।
रेडियोले स्याङ्जा जिल्लामै पहिलो सञ्चार माध्यमको रुपमा २०६४ साल मंसिर ६ गतेदेखि हालसम्म निरन्तर समाजलाई सञ्चारको माध्यमबाट सुसूचित गराउदै आईरहेको रेडियो सञ्चालक समितिका अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले जानकारी दिए ।
०६२/६३ को जनआन्दोलन पश्चात यहाँका केहि साथीहरु मिलेर स्याङ्जामा समेत सञ्चार माध्यमको खाँचो छ भन्ने महशुस गरी ०६४ मंसिर ६ गतेबाट १०५.४ मेगाहर्ज फ्रिक्वेन्सीमा परिक्षण प्रशारण शुरु गरेको रेडियो हालसम्मको अवस्थामा आइपुग्दा जिल्लाकै गौरवको विषय बन्न पुगेको अध्यक्ष पंगेनीले दावी गरेका छन् ।
परिवर्तित समय अनुसार आजभोली सञ्चारका विभिन्न माध्यमहरु भित्रिएपनि रेडियोले विगत १२ वर्षदेखि यहाँका स्थानीय गतिविधिहरुलाई प्राथामिकता दिँदै आईरहेको उनको भनाई छ ।
रेडियाले ज्ञान, सूचना र मनोरञ्जनका क्षेत्रमा समाजलाई सुसूचित गराउँदै आएको छ । प्रदेश नं. ४ र ५ का १८ जिल्लामा सुन्न सकिने रेडियो अहिले ५०० वार्टबाट १८ घण्टा प्रसारणमा छ । त्यस्तै अनलाईनमा समेत लगईन गरेर सुन्न सकिन्छ । स्याङ्जाको मध्यभाग वालिङ नगरपालिका ८ घ्याङलिङमा रेडियोको स्टुडियो रहेको छ ।