स्याङ्जा, २० कात्तिक ।
नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवार चयन गरेको छ ।
कांग्रेस पदाधिकारीको बुधबार बसेको बैठकले कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पौडेल कास्की कांग्रेसका पुराना नेता हुन्। उनी यसअघि कास्की कांग्रेसका सभापति समेत थिए । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ मा उपचुनाव हुन लागेको हो।
नेकपाले उक्त क्षेत्रमा रवीन्द्रकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ ।
उपचुनावका लागि उम्मेदवारी मनोनयन भोलि (कात्तिक २१) गते हुँदैछ ।
उमेद्वारको टुंगो लगाउनु अघि नै कांग्रेस जिल्ला कमिटी कास्कीले आगामी २१ गते मनोनयन दर्ताको समयमा सबैलाई भेला हुन निमन्त्रणा गरिसकेको छ । कांग्रेसले पठाएको निम्तो कार्डमा बिहीबार बिहान साढे १० बजे पोखराको सभागृह चोकमा जम्मा भइ जुलुससहित निर्वाचन आयोगको कार्यालयमा पुगी मनोनयन दर्ता गर्ने जनाइएको छ।