फाइल तस्वीर ।
चौतारा, कात्तिक १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढंगले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडारुपमा प्रतिवाद गर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत् ठोकर्पास्थित बाघभैरव नमुना माविको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले सरकार दुईतिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए ।
उनले त्यसको दृढताका साथ सशक्त ढंगले प्रतिवाद गर्ने जिकिर गरे ।
भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाँडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिए ।
वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद अग्नि सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
वि.सं. २०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु ९ करोड १८ लाख ७८२ मा सुविधासम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो । रासस