काठमाण्डौ—१६, भदौ
चालु आर्थिक वर्षको पहिलो महिना वैदेशिक व्यापार राम्रो संकेतबाट सुरु भएको छ।
राम्रो यस अर्थमा कि पहिलो महिनाको वैदेशिक व्यापारमा गत वर्षको तुलनामा आयात घटेको छ भने निर्यात बढेको छ।
भन्सार
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना १ खर्ब १५
अर्ब ५६ करोड २४ लाखबराबरको वैदेशिक व्यापार भएको छ। यो गत वर्षको सोही
अवधिभन्दा ९.३९ प्रतिशतले कम हो।
चालु आवको पहिलो महिनामा भएको कूल
व्यापारमध्ये १ खर्ब ६ अर्ब ७२ करोड ५३ लाखबराबरको आयात भएको छ। यो गत
वर्षभन्दा ११.५१ प्रतिशतले कम हो। गत वर्षको पहिलो महिना मुलुकले १ खर्ब २०
अर्ब ६१ करोडको आयात गरेको थियो।
त्यस्तै, निर्याततर्फ पहिलो महिना
सन्तोषजनक देखिएको छ। यस महिना मुलुकबाट हुने निर्यात २७.६८ प्रतिशतले
वृद्धि भएको छ। पहिलो महिना ८ अर्ब ८३ करोड ७० लाख रुपैयाँबराबरको वस्तु
निर्यात भएको छ। गत वर्षको पहिलो महिना भने यस्तो निर्यात ६ अर्ब ९२ करोड
१५ लाख रुपैयाँबराबरको थियो।
पहिलो महिना मुलुकले १ सयभन्दा धेरै
मुलुकसँग व्यापार गरेको छ। सधंै जस्तै सबैभन्दा धेरै व्यापार भएको छिमेकी
देश भारतसँगको व्यापार घाटा उच्च छ। भारतसँग पहिलो महिना ६१ अर्ब ७५ करोड
७८ लाख रुपैयाँको व्यापार घाटा भएको छ।
एक महिनामा भारतबाट ६७ अर्ब
८१ करोड रुपैयाँबराबरको सामान आयात भएको छ भने ६ अर्ब ५ करोड ३० लाख
रुपैयाँबराबरको सामान निर्यात भएको छ।
त्यस्तै, चीनसँगको व्यापारमा
१८ अर्ब ३३ करोड ३२ लाख रुपैयाँको घाटा भएको छ। चीनबाट १८ अर्ब ५३ करोड १५
लाखको सामान आयात हुँदा नेपालले १९ करोड ८२ लाखबराबरको मात्र सामान पठाउन
सकेको छ।
तेस्रो स्थानमा सबैभन्दा धेरै व्यापार भएको मुलुक
इन्डोनेसिया छ। जहाँ व्यापार घाटा पनि उच्च छ। एक महिनामा इन्डोनेसियाबाट २
अर्ब १ करोड ४६ लाख रुपैयाँको सामान आयात हँुदा नेपालले ३ लाख ८८ हजारको
निर्यात गर्न सकेको छ। उसँगको व्यापार घाटा २ अर्ब १ करोड ४२ लाखभन्दा धेरै
छ।