काठमाडौं । मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षामा रहेको धितोपत्र बजार शेयर कारोवार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ । पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । स्टकका अनुसार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ विन्दुले घटेर २७०.०४ मा झरेको छ । नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन् ।
स्टकक अनुसार कारोवार रकम पनि तुलनात्मकरूपमा घटेको छ । कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । बिहीबार नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको थियो । सो दिन कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भएको थियो ।