भवानी अधिकारी
स्याङ्जा, २४ असार ।
‘जिउँदाको जन्ती, मर्दाको मलामी ।’ भन्ने नेपाली समाजको उपदेश । हाम्रो संस्कार, समाज, परिवार र हामी एक अर्काका पुरक हौं । जसले हामीलाई बाँच्न र अनन्तकालसम्म हाम्रा संस्कार र संस्कृतिको संरक्षण गर्न सिकाएको हुन्छ । तर, सोही संस्कार, संस्कृति र समाजलाई कोरोना कहरले अहिले बिक्षिप्त बनाउदै गएको छ ।
कोरोना भाइरस संक्रमण भएसंगै समाजका ब्यक्तिहरु एकांगी बनेका छन् । कोरोना भाइरसको डर, त्रासका कारण छिमेकी र गाउँले पनि टाढा टाढा बनेका हुन । जुन अवस्थामा आफना आफन्तको सहानुभूति र सहयोगको खाँचो पर्छ, त्यही बेलामा रोगका संन्त्रास गाउँलेमा परेको छ । आफन्तको निधनमा शोकाकुल बनेका परिवार भेटघाटमा गर्न समेत डराउने अवस्था देखिएको स्थानीयबासीको भनाई छ ।
यही असार १० गते कोरोनाका कारण पोखरामा उपचारका क्रममा ज्यान गुमाएका स्याङजा आँधीखोला गाउँपालिकाका ५५ बर्षे एक पुरुषको परिवारले किरियामा बस्दा समेत छिमेकीको सहयोग र सद्भावबाट बंञ्चित हुनु प¥यो । कोरोनाका कारण उनको मृत्यु भएको पुष्टिभएसंगै छिमेकीहरु उनका घरमा पुगेनन् । मर्ने त मरेरै गए । अन्तिम संस्कारमा पनि वबाल भो । दुखद परिस्थितीसंगै पोखरामै उनको सतगत गरियो ।
‘उनीसंगै पोखरा पुगेकी पत्नी केही दिनको पोखरा बसाईपछि गाउँ फर्किइन् । एक छोरा नावालक छन । उनका २ छोरी पनि किरियामा छन् । गोठभरी गाईबस्तु । तर, आफन्तले बाहेक कसैले त्यस घरतर्फ नजर लगाएन् ।’ जनस्वास्थ्य निरीक्षक डिल्लीराम अधिकारीले भने ‘बरु, त्यही बाटो भएर म हिडेको थिएँ, मेरो पिसिआर टेष्ट गरिदिनु प¥यो भन्दै छिमेकीहरु स्वास्थ्य केन्द्र आईपुगे ।’
उनी बलिया र स्वस्थ्य छउन्जेल समाजका सहयोगी बनेका थिए उनी । उनका मृत्युसंगै उनका परिवारले समाजका ती सहानुभूतिको शब्द पनि सुन्न पाएको छैंन । शनिवार उनको निधनको पनि १० दिन बितिसकेको छ ।
पण्डित आउँछन् नावालक छोरा भएकाले किरिया बसेका मृतकका भाई, पत्नीलाई काजकिरियाका बिधी सिकाउँछन् अनि फर्कन्छन । आफन्तै पर्ने २/४ परिवारले मात्र सहयोग गरेको स्थानीयबासीको भनाई छ । उनीहरु पनि डराई, डराई आउने गरेका छन् ।
अर्जुनचौपारी गाउँपालिका घर भएका उनी केही बर्षदेखि आँधीखोला गाउँपालिकामा ब्यापार गर्दे आएका थिए । ५५ बर्षिय ती पुरुष भारतीय सेनाबाट निवृत्त हुन । हट्टाकट्टा देखिने उनी जेठको २३ गतेदेखि नियमितरुपमा पर्म (मेला) गएको बताइएको छ ।
जेठ / असारको महिना मानो खाएर मुरी उब्जाउने दिन भने झैं उनले पनि दिनभर बाउसेको काम गर्थे । कहिले बाउसे बने त कहिले खेत रोप्ने रोपारे । कहिले भने वीउ काढ्ने गरेर झण्डै १०/१२ दिन लगातार काम गरेपछि उनी असार ५ गते टाउको र ज्यान दुख्यो भन्दै मेलामा जान नसकेर घरमा बसेको पारिवारिक स्रोतले जनाएको छ ।
७ गते वान्ता भएपछि ज्वरो आउनु र श्वास फेर्न गाह्रो हुनुका साथै खोकी पनि लागेकाले पंचमूल प्राथमिक स्वास्थ्य केन्द्र पुगेका उनलाई त्यहाँका डा.गणेश वाग्ले सहितको चिकित्सकीय टोलीले एम्बुलेन्स खोजेर पोखरा पठाएको हो । उही नै उनलाई कोरोना पुष्टि भएपछि ८ गते पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखी उपचार गर्ने क्रममा १० गते निधन भएको थियो ।
अधिकांश समय पंचमूल बसेर ब्यापार गर्ने उनी अर्जुनचौपारी २ पटक पुगेका थिए । एक पटक श्राद्ध र अर्कोपटक सामाजिक पुजामा पुगेको बताइएको छ । उनको निधनपछि दुबै पालिकामा गरी ७८ जनाको कन्ट्रयाक ट्रेसिङ् गरिएको छ । ती मध्ये २१ जनाको नेगेटिभ आएको छ भने बाँकीको रिपोर्ट आउन बाँकी छ ।