प्रदिप कोइराला
विश्वको सिङ्गो अर्थतन्त्रको मेरुदण्ड पर्यटन उद्योगको विकासमा स्याङ्जा जिल्लाले नेपालमा एउटा महत्वपूर्ण योगदान गरेकोछ । पर्यटन उद्योग अरु क्षेत्रको तुलनामा प्रचूर सम्भावना बोकेको क्षेत्र हो । विश्वका विकसित देशहरुको उदाहारण लिने हो भने त्यस देशको विकासमा पर्यटन उद्योगले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । वर्तमान अबस्थामा पर्यटन विभिन्न प्रकारको आनन्द प्राप्त गर्ने माध्यम मात्र नभई राष्ट्रिय अर्थतन्त्रको विकास र अन्तराष्ट्रिय शान्ति प्राप्तिको सर्वोच्च माध्यम भैसकेको छ । शान्ति र आर्थिक विकासको लागि नेपालमा पनि पर्यटन उद्योग दिन प्रतिदिन फस्टाउँदै गइरहेको पाइन्छ । विश्वका पर्यटकीय गन्तब्यका स्थलहरु मध्ये नेपाल एक हो । नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा ल्याउन स्याङ्जाका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, व्यापारीक र प्राकृतिक अवस्थाले योगदान पु¥याएको हाम्रा सामु छर्लङ्ग छ ।
पर्यटकीय शहर पोखराको नजिकै रहेको स्याङ्जा जिल्लाको सिरुबारीबाट नेपालमै औपचारिक रुपमा व्यापकता पाएको ग्रामीण पर्यटकीय क्षेत्र हाल जिल्लाको विभिन्न ठाउँमा यसको सिको गर्दै पर्यटन उद्योगको रुपमा सञ्चालन गर्दै आईरहेका छन । यसका अलावा होम–स्टेका लागि सिर्सेकोट, महगाऊँ भनेर चिनिने खिलुङ्, बझाकोट, बूढाकोट, सिर्कोट, सुन्तलावारी, पञ्चासे लगायतका गाऊँ पर्यटकीय गन्तब्यको लागि तयारी अबस्थामा रहेका छन ।
धार्मिक पर्यटकीय हिसावले पनि स्याङ्जा उत्तिकै महत्वपूर्ण रहेकोछ । यहाँका पञ्चासेधाम, मनकामना, छाङ्छाङ्दी, रामनदीधाम, सेतीवेणी, आलमदेवी, गह्रौसुर, आँधीखोलाको उद्गमस्थल अन्धाअन्धीदह जस्ता धार्मिक स्थलमा आउने पर्यटकको संख्या पनि वर्षेनी बढ्दो छ । नेपालमै सबैभन्दा ठूलो जलविद्युत आयोजना रहेको स्याङ्जा तत्कालीन अवस्थामा कालीगण्डकी जलविद्युत परियोजना निर्माण गर्दा बनेको कालीगण्डकीको तालमा गरिने जलयातायात पनि उत्तिकै पर्यटकीय आकर्षणको केन्द्र रहेको छ । उता राम्दी–चापाकोट हुँदै त्रिवेणी सम्मको ¥याफ्टिङ्कोले निकै सम्भावना बोकेको छ, जसको सम्भाव्य अध्ययन भैसकेको छ । परम्परागत लोक संस्कृति, कला र साहित्यमा यस जिल्ला उत्कृष्ट मानिन्छ ।
जिल्लाको मध्य भागवाट बहने नागवेली आँधीखोला यस जिल्लाको पहिचान हो । राजा दशरथ सिकार खेल्ने क्रममा अन्धा बाबुआमालाई खर्पनमा बोकेर हिडेका श्रवण कुमारका बाबुआमालाई तिर्खा लागेपछि बाबुआमाको तिर्खा मेटाउन नजिकै रहेको तलाउमा अंखरामा पानी भर्दा मृगको जस्तो आवाज सुनेपछि दशरथले हानेको शव्दवेदी वाणका क्रममा श्रवणकुमारको मृत्यू भएपछि व्यकुल बनेका ती बाबुआमाको अश्रुधारावाट बनेको आधीखोला यस जिल्लाको प्राकृतिक सम्पदा हो । आँधीखोलालाई स्याङ्जावासीले उपयोग गर्न सकेका छैनन् । आँधीखोलामा जलविहार गर्न, कृतिम ताल श्रृजना गरी मत्यपालन तथा पर्यटकिय आक्रषणको केन्द्रको रुपमा विकशित गर्न सकिन्छ । आँधीखोला समग्र स्याङ्जाको सभ्यताको रुपमा विकशित भइरहेको छ । कन्चन र स्वच्छ पहाडी मुलको चिसो पानी यसको विशेषता रहेको छ ।
यता वालिङ नगरपालिकाले दिगो विकासका लक्ष अनुसार आफ्नो नगरको कार्य योजना तयार गरेको छ । नगरका घरहरुमा पिंक कलर लगाउनुपर्ने नीतिगत निर्णय गरेर वालिङ पिंक सिटी निर्माणको चरणमा छ । नेपालको पिंक सिटी उन्मुख वालिङ नगरपालिकाले आर्थिक एवम पर्यटकीय विकासमा फड्को मार्ने चरणमा छ । आँधीखोला किनारमा तटवन्ध गरी कृतिम जलाशय निर्माणको तयारी गरेको नगरपालिकाले केही वर्षमा पर्यटकीय क्षेत्रमा विकास गर्ने देखिन्छ ।
अनुपम प्रकृतिक सौन्दर्य, भौगोलिक विविधता, समृद्ध एवं जीवन्त सांस्कृतिक धरोहरहरू तथा अत्यन्त आत्मीय र मैत्रीपूर्ण पारिवारिक आतिथ्यका कारण सिरुबारीले नमुना पर्यटकीय गाऊँको रुपमा विश्वमा विशिष्ट पहिचान राख्न सफल भएकोछ । पर्यटक आउने थाहा पाएपछि आफ्नो भेषभूषामा चिटिक्क परेर हातमा फूलमाला र पहेंला खादा लिएर पर्यटकको स्वागतमा लामबद्ध भएर बस्ने यहाँका गुरुङ् आमाहरू, परम्परा झल्काउन उमेरले डाँडा काटेका वृद्धहरुले देखाउने आफ्नो संस्कृति, परम्परागत भाँडाकँुडा, परम्परागत घुमाउने घर स्याङ्जाको पर्यटकीय विकासका आधार हुन् ।
नेपाल भ्रमण वर्ष १९९८ बाट सुरु भएको ग्रामीण पर्यटकीय स्थलको रुपमा विकसित गराउन सहयोग पु¥याउने तत्कालीन स्याङजा क्षेत्र नं १ का सांसद क्याप्टेन रुद्रमान गुरुङको योगदानलाई समग्र स्याङजाबासी र नेपालीले कहिल्यै भुल्न हुदैन । गाउँमा उत्पादन हुने कोदोबाट बनेका परिकारहरु, गुन्द्रुक र भटमास, सिस्नु, मोही र मकैलाई डलरमा रुपान्तरण गराउन सिकाउने रुद्रमानको उच्च ूमूल्याङ्कन गर्नु जरुरी छ । साथै यस्ता कार्यहरु अझै गर्न सके स्याङ्जाको सम्पूर्ण क्षेत्र पर्यटकीय गन्तव्यको केन्द्र बन्न सक्ने प्रशस्त आधारहरु रहेका छन ।
सिरुबारीको सिको गर्दै होम–स्टेको राम्रो व्यवस्था मिलाएको अर्को गाउँ सिर्सेकोट जहाँ पर्यटकहरु पुगेपछि फर्कन नमान्ने गरेको कुराहरु सुन्नमा आउने गर्छन । पर्यटकको स्वागत देखि पर्यटकलाई राख्न यहँं पनि उस्तै व्यवस्था गरिएको छ । पारिवारिक वातावरणमा पाइने खानेकुरा सहरका तारे होटल र रेष्टुरेण्टमा पाउन मुस्किल हुने गर्छ । पर्यटकलाई स्थानीय स्तरमा उत्पादन गरिएको कोदोबाट बनाईएको घरेलु मदिरा नारे पा र बेलुका पर्यटकलाई देखाइने परम्परा झल्काउने रामायण नाच, घाटु, र सोरठीले पर्यटकलाई निकै आनन्दित गराउने गर्छन । सिर्सेकोटका गुरुङ समुदाय पनि पर्यटनलाई ग्रामीण अर्थतन्त्रको आधार बनाउन उनीहरुको प्रयास पनि उत्साहप्रद रहेको छ ।
नेपाल जस्तो आर्थिक रुपमा विपन्न मुलुकका लागि आर्थिक विकास र प्रगतिका लागि ग्रामीण पर्यटन मुख्य हतियार हुन सक्छ । अझ भन्ने हो भने सामाजिक रुपमा पिछडिएका वर्ग र त्यस्ता समुदायको आर्थिक उन्नतिको आधार बन्न सक्छ ग्रामीण पर्यटन । कम लगानीमा धेरै फाइदा लिन सक्ने भएकोले ग्रामीण अर्थतन्त्रमा पर्यटनको प्रभाव बढी हुने निश्चित छ । मुलुकको राजनैतिक अस्थिरताले गर्दा समग्र पर्यटन उद्योगमाथि पर्न गएको प्रभावको असर दीर्घकालीन पर्न सक्छ । यस्ता सम्भावना बोकेका क्षेत्रको उत्थान गर्न सके नेपाल आफैमा समृद्ध हुन सक्नेमा दुईमत छैन ।
हाल ग्रामीण क्षेत्रमा फस्टाएका पर्यटन उद्योगहरु र ती गाउँका बासिन्दाहरुलाई प्रोत्साहन दिन नेपाल सरकारले त्यति चासो नदेखाएको गाउँलेहरुले बताईरहेका छन । जसका कारण सुविधाको खोजीमा ती गाउँका बासिन्दा शहरतर्फ पलायन हुने गरेका उदाहरणहरु पनि देखिने गरेका छन । सिरुबारीमा ग्रामीण पर्यटनको अवधारणा ल्याउँदाको समयमा र अहिलेको समयमा आधा मानिसहरु सुविधाको खोजीमा शहरतर्फ बिस्थापित भएका छन । यस्ता ठाउँहरुमा देशमा उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनताको आधारभूत आवस्श्यकताहरु निर्माणका लागि सबै क्षेत्रवाट पहल हुनु जरुरी छ ।