चापाकोट, १७ चैत्र ।
कोरोना भाईरस संक्रमणको उच्च जोखिम वढेकाले नेपाल सरकारले देश पूर्णरुपमा लकडाउन गरेको आठौ दिन भईसकेको अवस्थामा दैनिक ज्यालादारी गर्ने तथा विहान बेलुका श्रम गरेर खानेको परिवार दैनिक जीवन सञ्चालनमा समस्या देखिए पछि चापाकोट नगरपालिकाले अतिविपन्न र मजदुरका परिवारलाई खाद्यान्न वितरण कार्यलाई तिव्रता दिएको छ ।
चापाकोट नगरपालिकाका प्रमुख शिब कुमार गिरीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश यतिबेला लकडाउनमा रहेको र अतिविपन्न मजदुरहरुका लागि चापाकोट नगरपालिकाले राहातका कार्यक्रमलाई अगाडि बढाएको बताउनु भयो । खानाको अभावमा कुनै पनि चापाकोट नगरबासी समस्यामा पर्न नहुने बताउदै नगरप्रमुख गिरीले नगरपालिका नागरिकको सहज जीवनयापन गराउनका लागि प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।
विपत व्यवस्थापन तथा कोरोना रोकथाम तथा राहत कोष स्थापना गरेर नगरवासीलाई सहयोग उपलव्ध गराईएको प्रमुख गिरीको भनाई छ ।
सोमबार मात्रै चापाकोट नगरपालिका वडा नं २ मा ३ घर वडा नं ४ मा २५ घर र वडा नं ६ को केलादी वृद्वाआश्रम र वडा नं ७ मा १ घरका सदस्यका लागि राहत वितरण गरिएको नगरपालिकाका प्रेस सल्लाहकार विश्व प्रकाश भट्टराईले जानकारी दिए ।
कोरोनाको शंका लागेमा विरामीहरुको नगरपालिकाले निःशुल्क औषधी उपचारको व्यवस्थापन गर्ने र चापाकोट भित्रका नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिनका लागि चापाकोटबासी तथा चापाकोट उद्योग वाणिज्य संघसंग समन्वय गरेर अगाडि वढिएको प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले जानकारी दिए ।
यस्तै विदेशबाट चापाकोटमा आउनेहरुलाई होम क्यारेन्टाईनमा राखिएको स्वास्थ्य शाखाका प्रमुख बिन्दु कोईरालाले जानकारी दिए । उनका अनुसार क्वारेन्टाईनमा रहेका ९० जनाको निरन्तर स्वास्थ्य परिक्षण गर्ने काम भईरहेको हालसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको समेत जानकारी दिए ।