स्याङ्जा, १९ फागुन ।
विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसबारे सचेतना जगाउन स्याङ्जाको फेदीखोला गाउँपालिकाले विभिन्न जानकारीमुलक कार्यक्रम गर्ने भएको छ ।
गाउँपालिकाका पाँचै वटा वडामा रहेका स्वास्थ्यचौकी तथा विद्यालयबाट अभियान सञ्चालन गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न सोमबार गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको शाखा प्रमुख खिलप्रसाद पौडेलल बताए ।
कार्यक्रम अन्र्तगत मंगलबारबाट नो ह्यान्डसेक (हात नमिलाउने अभियान), हरेक विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम गरिनेछ । त्यसैगरी पाँचैवटा वडाका ४ वटा स्वास्थ्यचौकी र २ वटा सामुदायिक स्वास्थ्य एकाईमा पनि यसको सङ्क्रमण र बच्ने उपायबारे जानकारी दिइनेछ ।
गाउँपालिकामा कार्यरत २६ जना स्वास्थ्यकर्मी र ३६ जना स्वयम सेविकाले प्रचारप्रसारमा खटिनेछन् । ठाउँठाउँमा पोष्टर, ब्यानर तथा डिजिटल बोर्डबाट जानकारी दिइने तथा महिला स्वास्थ्य स्वयमसेविकाद्वारा गाउँगाउँमा सचेतना फैलाउने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
१०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुन् ।