वालिङ, ८ फागुन ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ क्यान स्याङ्जाले क्याम्पस र विद्यालयस्तरीय टाईपिङ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुको ज्ञान र सीप अभिवृद्धिको लागि क्यानले विहिबार वालिङमा सूचना, सञ्चार र प्रविधि शिर्षकमा वक्तृत्वकला प्रतियोगिता र नेपाली र अंगे्रजी भाषाको टाईपिङ प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको वालिङ नगरप्रमुख दिलीपप्रताप खांँणले उद्घाटन गर्दै सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको बताएका छन् । नगर प्रमुख खाँणले अन्य मुलुकको तुलनामा सुस्त गतिले भए पनि नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएको प्रगतिले आम मानिसको जीवनलाई सहजता ल्याएको वताएका थिए ।
कार्यक्रममा पूर्व मेयर भोजराज अर्यालले बढ्दो सूचना प्रविधिको प्रयोगले मानिसको जीवनशैलीलाई सहज बनाएपनि यसका नकारात्मक पक्षहरु समेत रहेकाले यसप्रति सबैको ध्यान जान आवश्यक रहेको बताए । विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई यस्ता प्रतियोगिताले बौद्धिक विकास हुनुका साथै सूचना प्रविधिको गहन अध्ययनप्रति आकर्षण बढ्ने उनको धारणा थियो ।
क्यानका अध्यक्ष मणिप्रसाद अर्यालले क्यानले यहाँका पालिकाहरुसंँग समन्वय गरेर सूचना र प्रविधिका क्षेत्रहरुमा काम गर्न सक्ने बताए । प्रविधिमैत्रि नगरपालिका भनिरहँदा क्यानसंँग समन्वय र सहकार्यवाट अझ प्रभावकारी काम हुनेमा सहकार्य गर्न क्यान महासंघ तयार रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा वालिङ नगरपालिका वाड नं १३ का अध्यक्ष आनन्द पाठक, वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतम, साना शहरी खानेपानी उपभोक्ता समितीका अध्यक्ष विद्या श्रेष्ठ, क्यानका सल्लाहकार देव बोगटी, रोटरी क्लबका अध्यक्ष राजेन्द्र डुम्रे लगायतले देश विकासको मेरुदण्ड मानिने सूचना प्रविधिको क्षेत्रमा स्थानीय सरकार देखि केन्द्र सरकारले लगानी वढाई आम नागरिकलाई प्रविधिमैत्री वनाउन आवश्यक रहेको औल्याएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा राष्ट्रिय माविकी छात्रा बिना रेग्मी प्रथम, पिसजोन ईन्टीग्रेटेड एकेडेमीकी छात्रा सन्तोषी श्रेष्ठ द्वितीय र भाग्योदय माविका कृष्मत रोका तृतीय भएका छन् भने पिसजोनका विजय लुँईटेल र वालिङ बहुमुखी क्याम्पसकी सविना पंगेनीले सान्त्वना स्थान प्राप्त गरे ।
त्यस्तै टाईपिङ प्रतियोगितामा नेपाल आदर्शका जनक एसके प्रथम, वालिङ बहुमुखी क्याम्पसका रन्जित पौडेल द्वितीय र बहुमुखीकै सन्दीप थापाले तृतीय स्थान प्राप्त गरेका छन् । प्रतियोगितमा विजेता तथा उपविजेता विद्यार्थीले नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।
वक्तृत्वकला तथा टाईपिङ प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बनेका विद्यार्थीहरुले यही फाल्गुन ११ गते हुने क्यान ईन्फोटेकमा सहभागिता जनाउन पाउनेछन् ।
वालिङ टिभिका अध्यक्ष जोगराज पाठकको स्वागतसंगै शुरु भएको कार्यक्रम क्यानका अध्यक्ष मणिप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन क्यानका सचिव दर्शन पराजुलीले गरेका थिए /