
स्याङ्जा २२ भदौ । राजनीतिमा पद, शक्ति र वर्तमानको चर्चा धेरै हुन्छ। तर कुनै पनि राजनीतिक संगठनको वास्तविक शक्ति उसको इतिहास, योगदानकर्ता र कार्यकर्ताको समर्पणमा लुकेको हुन्छ। विडम्बना के छ भने समय बित्दै जाँदा योगदान गर्नेहरू नै पार्टीको स्मृतिबाट हराउँदै जान्छन्। यस्तो प्रवृत्तिबीच नेकपा एमाले वालिङ नगर कमिटीले गरेको एउटा कार्यक्रम भने फरक र अनुकरणीय अभ्यासका रूपमा देखिएको छ।
नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले हालै एक कार्यक्रमका विच २०४९ सालदेखि एमालेको तर्फबाट निर्वाचनमा सहभागी भएका, निर्वाचित वा पराजित भएका व्यक्तिहरूको खोजी, पहिचान र सम्मान गर्ने काम भयो। विगतदेखि वर्तमान सम्म जनप्रतिनिधिको भूमिकामा रहेकाहरूलाई एउटै ठाउँमा भेला पारेर कदरपत्र र दोसल्लासहित सम्मान गर्नु सामान्य औपचारिक कार्यक्रमभन्दा निकै फरक र अनुकरणीय विषय रहेको छ ।
राजनीतिक दलमा योगदानको मूल्याङ्कन प्रायः वर्तमान पद र शक्तिका आधारमा हुने गर्छ। तर पौडेल नेतृत्वको वालिङ नगर कमिटीले विगतमा पार्टीका लागि खटिएका, निर्वाचनमा होमिएका र हार–जीतभन्दा माथि उठेर संगठनका लागि समय दिएका व्यक्तिहरूलाई सम्झिएको छ। यसले एउटा महत्वपूर्ण सन्देश दिएको छ । “राजनीतिमा योगदान कहिल्यै पुरानो हुँदैन।”
वालिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रमले एउटै पुस्तालाई मात्र होइन, राजनीतिको तीन पुस्तालाई जोड्ने काम गरेको छ। पार्टीले गरेको सम्मान र प्रदान गरेको कदरपत्र ती व्यक्तिको अभिलेख र सम्मानको प्रतीक को रूपमा रहने छ । पार्टीले बिर्सिएको अनुभूति गरिरहेका पुराना कार्यकर्तालाई पार्टीले सम्झेर सम्मान गर्दा त्यसले दिने सन्देश फरक खालको देखिएको छ ।
पार्टीको नेतृत्व परिवर्तन भइरहन्छ, पदाधिकारी फेरिन्छन्, निर्वाचन आउँछन्–जान्छन्। तर संगठन निर्माणमा पसिना बगाएका मानिसको योगदान इतिहासमा रहिरहन्छ। त्यसैले विगतका योगदानकर्तालाई खोजेर सम्मान गर्नु राजनीतिक संगठनका लागि खर्च होइन, आफ्नै इतिहासमा गरिएको लगानी हो।
आज राजनीतिक दल र नेतृत्वप्रति बढ्दै गएको वितृष्णाको एउटा कारण योगदानको उचित मूल्याङ्कन नहुनु पनि हो। यस्तो अवस्थामा विगतका सहयात्रीलाई सम्झने, सम्मान गर्ने र उनीहरूको योगदानलाई सार्वजनिक रूपमा अभिलेख गर्ने संस्कारले कार्यकर्तामा अपनत्व र ऊर्जा थप्न सक्ने जानकारहरू वताउछन।
यो अभ्यास एमालेका लागि मात्र होइन, हरेक राजनीतिक दलका लागि अनुकरणीय पाठ बन्न सक्छ। दलहरू चुनावका बेला मात्र कार्यकर्ताको घरदैलोमा पुग्ने होइन, योगदानका आधारमा आफ्ना सहयात्रीलाई सम्झने संस्कार विकास गर्न सके राजनीतिप्रतिको विश्वास पनि बलियो बन्न सक्छ।
त्यसैले नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलसहित यस अभियानमा जुटेको सम्पूर्ण टिमले गरेको कार्य प्रशंसनीय छ ।