बैशाख १६,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले अपाङ्गता सम्बन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको सभाहलमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न भएको हो ।
नगरपालिकाको आयोजना तथा अन्तरध्वनी नेपालको सहकार्यमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे समृद्ध नगर र सुखी नगरबासी अभियानमा सबै नागरिकहरु एकजुट हुनुपर्ने बताईन ।
नगर विकासको लागि मानसिक रुपमा नगरबासी तयार हुनुपर्ने उल्लेख गर्दै नागरिकको स्वास्थ्य र आयआर्जन सबल बन्नुपर्नेमा उपप्रमुख तिवारीको जोड थियो ।
हरेक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आइरहेको जानकारी दिँदै उपप्रमुख तिवारीले नगरको कार्यविधिले अपाङ्गता परिचय पत्र वितरणमा असहज भएको बताईन । नगरपालिकाले जारी गरेको कार्यविधिलाई परिमार्जन गरेर मात्र अपाङ्गता परिचय पत्र वितरण सहज हुने उनको धारणा थियो ।
शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारका कार्यक्रममा जोड्ने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरिने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।