
स्याङ्जा, चैत २०
वालिङ अहिले ‘गुलाबी शहर’का रूपमा चिनिन थालेको छ। शहरका घर, सडक किनार र सार्वजनिक संरचनाहरू गुलाबी रङले सजिँदै जाँदा यहाँ आउने जो–कोहीको ध्यान खिच्ने गरेको छ। यही फरकपनले वालिङलाई अन्य शहरभन्दा छुट्टै पहिचान दिएको छ।
नगरपालिकाको तथ्यांकअनुसार करिब ८० प्रतिशत घरमा गुलाबी रङ लगाइएको छ। यसले शहरलाई एकरूप बनाउनुका साथै आकर्षक पनि बनाएको छ। स्थानीय सरकार र नागरिक मिलेर अघि बढाएको यो अभियान अहिले सफल बन्दै गएको देखिन्छ।
यसै अभियानलाई थप मजबुत बनाउन अब अटो चालकहरू पनि गुलाबी बनेका छन्। नगरभित्र चल्ने करिब २०० अटो चालकलाई गुलाबी ज्याकेट वितरण गरिएको छ। सडकमा गुड्ने अटो मात्र होइन, चालकको पोशाकले पनि अब शहरको पहिचान झल्काउने भएको छ।
नगरपालिकाका अनुसार यो काम केवल सुन्दरता बढाउनका लागि मात्र होइन। अटो सेवालाई व्यवस्थित बनाउन, सबै चालकलाई दर्ता प्रणालीमा ल्याउन र राजश्व संकलनलाई प्रभावकारी बनाउन यो कार्यक्रम ल्याइएको हो।
गुलाबी ज्याकेट लगाएका चालकहरू अब सजिलै चिनिन्छन्। यात्रुहरूले पनि दर्ता भएका अटो छुट्याउन सक्छन्, जसले सेवा लिँदा विश्वास बढाउँछ। साथै चालकहरूबीच अनुशासन र एकता पनि बढ्ने अपेक्षा गरिएको उपप्रमुख कविता तिवारीले वताईन।
अटो व्यवसायीहरू पनि यसबाट खुशी छन्। उनीहरूका अनुसार पहिले केही अव्यवस्थित देखिने सेवा अहिले क्रमशः व्यवस्थित हुँदै गएको छ। एउटै पोशाक भएपछि यात्रुहरूसँग विश्वासको सम्बन्ध अझ मजबुत हुने उनीहरूको भनाइ छ।
वालिङमा अटो सेवा अहिले दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। विद्यार्थी, कर्मचारी, व्यापारीदेखि ज्येष्ठ नागरिकसम्मले अटो प्रयोग गरिरहेका छन्। छोटो दूरीका लागि सजिलो र सस्तो भएकाले यसको प्रयोग बढ्दै गएको हो।
यस्तो अवस्थामा अटो सेवालाई व्यवस्थित बनाउने प्रयास आवश्यक थियो। गुलाबी ज्याकेट वितरणजस्तो कार्यक्रमले अब यस क्षेत्रमा सुधार आउने संकेत दिएको छ।
यसले शहरको समग्र छविमा पनि राम्रो प्रभाव पारेको छ। गुलाबी रङ अब केवल सजावटको प्रतीक मात्र नभई अनुशासन, पहिचान र व्यवस्थापनको चिन्ह बनेको छ।
‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसहित अघि बढिरहेको वालिङमा यस्ता साना तर प्रभावकारी कामहरूले ठूलो परिवर्तन ल्याइरहेका छन्। स्थानीय सरकार, व्यवसायी र नागरिकबीचको सहकार्यले यो सम्भव भएको हो।
अब वालिङ केवल सुन्दर शहर मात्र होइन, नयाँ सोच र व्यवस्थित सेवाको उदाहरण बन्दै अघि बढिरहेको छ।