
स्याङ्जा, १५ कार्तिक ।
स्याङ्जाबाट स्थापना भएको मुक्तिनाथ विकास बैंक लिमिटेडले वाणिज्य बैंकमा स्तरोन्नतिको दिशामा ठुलो फड्को मारेको छ। बैंकको १९औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि सञ्चालक समितिबाट प्रस्तावित १८.२० प्रतिशत लाभांश पारित गर्दै पूँजी वृद्धि र वाणिज्य बैंकमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको वैंकका सन्चालक भरत लम्सालले जानकारी दिए ।

कात्तिक १५ गते शनिबार पोखरामा सम्पन्न साधारणसभामा बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरिएको थियो।
सोही साधारणसभाले बैंकको चुक्तापूँजी रु. ९ अर्ब ३ लाख ८८ हजार ७ सय ६७ रुपैयाँ ११ पैसा पुर्याउने र त्यसअनुसार प्रबन्धपत्रका दफा संशोधन गर्ने निर्णय गरेको छ। साथै, पूँजीवृद्धिपछि नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ।
वि.सं. २०६३ सालमा स्याङ्जाको पुतलीबजारमा स्थापना भएको मुक्तिनाथ विकास बैंक आज देशका प्रमुख विकास बैंकहरूमध्ये एक बनेको छ। ग्रामीण अर्थतन्त्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित सुरु भएको यो बैंकले हाल देशभरका विभिन्न जिल्लामा शाखा विस्तार गरी लाखौँ ग्राहकको विश्वास जित्न सफल भएको छ।
वाणिज्य बैंकमा रूपान्तरणको तयारीसँगै स्याङ्जावासीका लागि यो समाचार गौरवको विषय बनेको छ। स्याङ्जाबाट सुरु भई देशभर आर्थिक सशक्तीकरणको अभियान फैलाउने मुक्तिनाथ विकास बैंकले जिल्लाको नाम राष्ट्रव्यापी रूपमा वाणिज्य वैंकको रूपमा अगाडि वढाउने खवरले उत्साहित र खुसी वनेका छन् ।