
स्याङ्जा, साउन १ । “जनताको सेवामा न स्वार्थ, न लोभ; न सत्ता मोह, न अहंकार।” यही भावनाका साथ आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो तीन वर्षे कार्यकालको सार्वजनिक समीक्षा गर्दै एक अत्यन्त प्रेरणादायी र सन्देशमूलक स्वघोषणा गरेका छन्।
राज्यका कानुन, नीति, मापदण्ड र आचरणको अक्षरशः पालना गर्दै पालिकाको नेतृत्व सम्हालेको दाबी गर्दै अध्यक्ष पौडेलले जनसमुदाय समक्ष स्पष्ट सन्देश दिएका छन्- “सेवा भनेको अवसर होइन, जिम्मेवारी हो।”
तीन वर्षको अवधिमा उनले पालिकाबाट एक पैसा पनि भ्रमण भत्ता, बैठक भत्ता, हवाइ टिकट वा अन्य शीर्षकमा नलिएको घोषणाले स्थानीय तहमा सुशासन र इमानदारीको सम्भावना अझ प्रष्ट बनाएको छ। अझ रोचक त के छ भने, उनले आफूले कुनै निजि सचिव, विज्ञ, सल्लाहकार, भान्से वा अन्य पालिकावाट भुक्तानी दिनुपर्ने पद सृजना नगरेको र सरकारी ढुकुटीमाथि बोझ नपारेको खुलासा गरेका छन्।
पौडेलको भनाइमा— “म खुला किताब हुँ। मैले आफ्नो सम्पत्ति आर्थिक वर्ष सुरूको दिन विवरण सार्वजनिक गरेको छु, गरिरहेकै छु। मलाई मुल्यांकन जनताले गर्छन्, त्यो नै मेरो शक्ति हो।” उनले जनचाहना पूरा गर्न सधैं सम्भव नहुने यथार्थ स्वीकार गर्दै पनि इमानदारीपूर्वक गरेका कामको मुल्यांकन जनताले गरुन् भन्ने आग्रह गरेका छन्।
उनको यो सन्देश न केवल आँधीखोलाबासीका लागि प्रेरणादायी छ, यो सिंगो देशभरका जनप्रतिनिधि र सेवाप्रेमी नेतृत्वका लागि पनि मार्गदर्शक बन्न सक्छ। जब सार्वजनिक पदमा बसेका व्यक्तिले पारदर्शिता, जवाफदेहिता र सेवा नै धर्म ठानेर अघि बढ्छन्, तब मात्र जनताले भरोसा राख्न सक्छन् ।
अध्यक्ष पौडेलको यो प्रतिबद्धता कुनै सामान्य बयान होइन; यो एक इमानदार राजनीतिक संस्कृतिको संकेत हो, जसले जनसेवा र निष्ठाको उज्यालो बाटो देखाउँछ।
उनले भने, “मलाई थाहा छ, इमान, सद्भाव, सेवाभाव र,प्रतिबद्ध सहित कर्मशीलता, र स्वच्छता छ भने त्यो मानिस खराब हुन सक्दैन ! आम जनसमुदाय प्रति यो मेरो सार्बजनिक प्रतिबद्धता हो, म पारदर्शी, जबाफदेहि, उत्तरदायी र ईमानदार रहिरहने छु ! यहाँहरूका सल्लाह सुझाब र आलोचनालाई आगामी दिनमा पनि सधैं आत्मसाथ गर्ने छु ! उनले आफ्नो सामाजिक संजाल मार्फत व्यक्त गरेका छन् ।

