वालिङ, असार १६ ।
वालिङ नगरपालिकाले कक्षा १ देखि ३ मा अध्यापन गराउने शिक्षकहरूलाई लक्षित गरी दश दिने एकीकृत पाठ्यक्रमसम्बन्धी कष्टमाइज्ड तालिम सम्पन्न गरेको छ। रुम टु रिडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिम असार ५ गतेदेखि १५ गतेसम्म नगरपालिकाको सभाहलमा दुई चरणमा सम्पन्न भएको हो।
तालिममा नगर क्षेत्रका ६१ वटा सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो। नयाँ पाठ्यक्रमको संरचना, उद्देश्य, मूल्याङ्कन विधि, र बालमैत्री सिकाइ रणनीतिका विषयमा प्रशिक्षण दिइएको थियो।
समापन कार्यक्रममा उपप्रमुख कविता तिवारीले सामुदायिक विद्यालयमा पोशाक वितरण, योग अभ्यास, र संस्थागत शैलीको शैक्षिक गतिविधि सञ्चालन गर्ने योजना सार्वजनिक गरेकी छन् । उनले रुम टु रिड कार्यक्रम सामुदायिक विद्यालयमा प्रभावकारी भएको उल्लेख गर्दै अब विद्यार्थीहरूलाई नेपालीसँगै अंग्रेजी भाषामा पनि शुद्ध र स्पष्ट बोल्ने तथा पढ्ने बानीको विकास गराइने बताइन्।
रुम टु रिडका कार्यक्रम अधिकृत टेक बहादुर ढेँगाले तालिमले शिक्षकहरूलाई पाठ्यक्रमअनुसारको योजना निर्माण र मूल्याङ्कनमा दक्ष बनाएको बताए। शिक्षा अधिकृत दुर्गा न्यौपानेले तालिमले शिक्षकमा व्यवहारिक ज्ञान र सीप विकासमा सहयोग पुगेको बताईन।
रुम टु रिडले गत वर्ष २० विद्यालयमा कार्यक्रम सञ्चालन गरेको थियो भने यस वर्ष थप २० विद्यालयमा विस्तार गरिएको छ। वालिङ नगरपालिकाले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गरिए शिक्षाको गुणस्तरमा दीर्घकालीन सुधार आउने विश्वास लिएको छ।