वालिङ – वालिङ नगरपालिकाको १८ ओै नगरसभामा नगर प्रमुख कृष्ण खाँणले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बहुआयामिक कार्यक्रम प्रस्तुत गरेको छ। समावेशी, नविन तथा जनमुखी योजनाहरुले नगरको दिगो विकास र नागरिक सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रमा नगरले विद्यालयहरूलाई मर्ज गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। कम्तीमा एउटा सामुदायिक विद्यालयलाई आवासीय बनाउने, गाउँ-गाउँबाट नगरबस चढाएर विद्यार्थी ल्याउने योजना अघि सारिएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई एउटै रङको पोशाक वितरण गरिनेछ। “एक विद्यालय, एक करेसाबारी” कार्यक्रम लागू गरिनेछ भने प्रत्येक शुक्रवार ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालन गरिनेछ। विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने नीति कार्यक्रमले उल्लेख गरेको छ।
स्वास्थ्य क्षेत्र अन्तर्गत “म स्वास्थ्य, मेरो नगर” कार्यक्रमलाई प्राथमिकता दिइएको छ। यस अन्तर्गत समुदायको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने व्यवस्था गरिनेछ। साथै, विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गरिनेछ जसले बालबालिकाको स्वास्थ्य संरक्षणमा योगदान पुर्याउनेछ।
कृषि क्षेत्रलाई पनि सशक्त बनाउने योजना नगरको प्राथमिकतामा परेको छ। किसानका खेतबारीमै प्राविधिक सेवा तथा टेवा पुर्याउने व्यवस्था गरिनेछ। उत्पादनमा आधारित प्रोत्साहन अनुदान, कृषि उपज संकलन केन्द्र स्थापना तथा लोपोन्मुख अवस्थामा पुगेका रैथाने बालीको संरक्षणका कार्यक्रमलाई कार्यान्वयन गरिनेछ।
यस नीति तथा कार्यक्रममा प्रस्तुत गरिएका उद्देश्य र कार्यक्रमहरूले शिक्षा, स्वास्थ्य र कृषिलाई एकसाथ जोड्दै समग्र नगरवासीको जीवनस्तर उकास्ने विश्वास लिइएको छ।