स्याङ्जा, जेठ २७ । मौलिकता र विविधताका प्रतीक रैथाने बालीहरू लोप हुँदै गइरहेका सन्दर्भमा कालीगण्डकी गाउँपालिका–४ मा रैथाने बाली संरक्षण तथा प्रवर्द्धनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
पोषणमैत्री गाउँपालिका घोषणा गर्नुपर्ने पूर्वतयारीका चरण अन्तर्गत आयोजित उक्त कार्यक्रम जनता माध्यमिक विद्यालय, वडा नं. ४ को सभाहलमा सम्पन्न भयो। कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सावित्री कोइरालाले रैथाने वालीमा पोषण तत्व भरपुर पाईने र स्वस्थ्यकर हुने हुँदा संरक्षण र सम्वर्दन गर्नुपर्ने वताईन ।
प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले रैथाने बालीहरू पोषण, स्वास्थ्य र समग्र जीवनस्तर उकास्न अत्यन्त महत्वपूर्ण भएको धारणा व्यक्त गरे। उनले भने, “हाम्रा रैथाने बालीहरू पोषणका उत्कृष्ट स्रोत हुन्, तसर्थ यिनको संरक्षण हाम्रो दायित्व हो।”
कार्यक्रममा कृषि र स्वास्थ्य शाखा प्रमुखहरू, प्रमुख प्रशिक्षक, तथा वडा नं. ४ का किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रैथाने बालीको संरक्षण, उत्पादन वृद्धि र बजारिकरणका विषयमा छलफल गर्दै यस्ता कार्यक्रमहरूले कृषकमा चेतना र आत्मबल थप्ने विश्वास व्यक्त गरे।
गाउँपालिकाले निकट भविष्यमै अन्य वडाहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ। कार्यक्रम वडा अध्यक्ष यादव प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।