वालिङ ८ घ्याङलिङमा रहेको श्रवण कुमार पार्क वालिङवासीको मर्निङ र ईभिनिङ रिफ्रेस सेन्टर वन्दै गईरहेको छ ।
वालिङ-११ चैत्र । वालिङ नगरपालिका-८ घ्याङलिङको श्रवणकुमार पार्क ‘फ्रि वाईफाई जोन’ भएको छ। पार्क व्यवस्थापन समिति र नवप्रभात युवा क्लबको सक्रियतामा वालिङ इन्टरनेट कम्पनीले ‘फ्रि वाईफाई जोन’ बनाउन सहयोग गरेको हो।
पार्कका आउने पर्यटकलाई प्रविधिको सेवा उपलब्ध गराई थप मनोरञ्जन दिने उद्देश्यले फ्रि वाईफाई जोन बनाइएको हो। घ्याङलिङस्थित अमिलीथुम आधारभूत विद्यालय स्थानान्तरण गरिएपछि त्यहाँ रहेको जीर्ण भवन भोगचलन गर्ने सहमतिबमोजिम रंगरोगन गर्नुका साथै पूर्वाधार निर्माण गरी पार्क बनाइएको छ।
पार्कमा श्रवणकुमारको प्रतिमा, वृक्षरोपण, सिंढी, पोखरीलगायतका पूर्वाधार निर्माण गरिएसँगै पर्यटकका रोजाइमा पर्दै आएको हो। पार्कमा मनै लोभ्याउने खालका पूर्वाधारसँगै सफासुग्घर छ। पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपणलाई वालिङ नगरपालिका, यूएनडीपी, वडा नं. ८ कार्यालय, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, दियालो संस्था, अमिलीथुम प्राथमिक विद्यालयको सहयोग रहेको नवप्रभात युवाक्लबका अध्यक्ष जीवलाल काफ्लेले जानकारी दिए।
निर्माण समितिका अध्यक्ष तोलाकान्त बगालेका अनुसार चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेशबाट विनियोजित १० लाख रुपैयाँले पूर्वाधार निर्माणको काम जारी छ। बजारको कोलाहलबाट अलि पर र शान्त वातावरणसहितको पार्कमा विदाका दिन यहाँ आउने आन्तरिक पर्यटकको संख्या दिन प्रदिनदिन बढेको छ ।