गल्याङ, २१ जेठ । नेपाल उत्पीडित दलित समाज विकास समिति गल्याङले रुकुम घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी मार्फत समितिले मंगलबार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
जाजरकोट राना गाउँका नवराज विक लगायत छ जनाको रुकुमको चौरझारी नगरपालिका ८, स्वतिमा गाउँलेहरुले जातिय कारणले हत्या गरेको भन्दै ज्ञापनपत्रमा दोशीलाई कारवाहीको माग गरिएको छ ।
ज्ञापनपत्रमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई समाजे पचाउन नसकेर जघन्य अपराध भएको भन्दै अतिबादी समाज अझै पनि संविधानमा उल्लेखित विषयलाई स्विकार गर्न नसकेको जिकिर गरिएको छ ।
ज्ञापनपत्रमा मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरुलाई राहतको व्यवस्था गर्न र दोशीलाई सर्वस्व सहित जन्मकैदको व्यवस्था गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जातीय छुवाछुत व्यवहारबाटै हटाउन सबैले भूमिका खेल्नुपर्ने वताएका थिए । उनले अझै पनि यस्तो घटना हुनु दुखद रहेको भन्दै दलित समाज विकास समितिको कुरामा आफ्नो पनि समान मत रहेको धारणा व्यक्त गरे । ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्वता पनि व्यक्त गरेका थिए ।
ज्ञापनपत्र बुझाउँदै नेपाल उत्पीडित दलित समाज विकास समितिका अध्यक्ष कुलबहादुर विश्वकर्माले जातीय छुवाछुत अन्त्यको भूमिका खेल्न आग्रह गरेका थिए ।