भीरकोट, १४ फागुन ।
जनप्रिय माध्यमिक विद्यालय भीरकोट नगरपालिका ५ स्वरेक सिम्लेमा प्राविधिक शिक्षा सञ्चालन, शैक्षिक गुणस्तर वृद्धि भौतिक निर्माण सहित बिद्यालयको सर्वाङगीण विकास सहयोगार्थ गत माघ ७ गतेदेखि सन्चालित श्रीमदभागवत धनधान्याञ्चल ज्ञानमहायज्ञको आय व्याय सार्वजनिक गरिएको छ ।
सार्वजनिक समारोहमा भत्तजनहरुबाट दान सहयोग, शान्ति कलश, धान, चामल गरी जम्मा ६९ लाख २४ हजार २ सय ८४ रुपैयाँ रकम संकलन भएको महायज्ञ मुल आयोजक समितीका निर्देशक तथा वडा अध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिए । उता महायज्ञ सन्चालनका क्रममा विविध शिर्षकमा भएको खर्च कटाएर वाँकी विद्यालयका लागि बचत रकम रु ५९ लाख ४६ हजार ५ सय ३० बचत भएको समेत जानकारी दिइएको छ ।
कक्षा १० सम्म पठनपाठन हुँदै आईरहेको विद्यालयमा विद्यालयको शैक्षिक स्तरोन्नतिका लागी कक्षा ११ र १२ मा प्राविधिक शिक्षालय स्थापना र आवश्यक पुर्वाधार निर्माणका लागी माघ ७ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।
महायज्ञमा पण्डित देवनयन नारायण लामिछानेले कथा वाचन गर्नुभएको थियो । महायज्ञमा दैनिक योग शिक्षा, हवन तथा कथा वाचन, नैतिक शिक्षा, लक्ष्यवर्ती र भजनकिर्तन प्रस्तुत गरिएको थियो । गाउँघरमै प्राविधिक शिक्षा सञ्चालन हुने भएपछि त्यहाँका अभिभावक तथा विद्यार्थी उत्साहित बनेका छन् ।