गल्याङ, २२ माघ ।
गल्याङ नगरपालिका १ स्थित राम्दीमा आयोजित भेलाले जेष्ठ नागरिक सेवा समाज गठन गरिएको छ । जेष्ठ नागरिकको अधिकार सुनिश्चिताको माग गर्दै राम्दीमा रहेको बृद्वाश्रममा जेष्ठ नागरिक सेवा समाज गठन गरिएको हो । भेलामा कृष्णप्रसाद वश्यालको अध्यक्षतामा सात सदस्यीय समितीको चयन गरिएको छ ।
गठित समितीको उपाध्यक्षमा चन्द्रकला रेग्मी, सचिबमा देबेन्द्र पौडेल र कोषाध्यक्षमा इन्द्रमणी लामिछाने चयन भएका छन् । सदस्यहरुमा विष्णुुुुुुुुुुुदेब भट्टराई, नेत्रकुमारी रेग्मी, बमबहादुर अधिकारी र शान्तिमाया नेपाल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा जेष्ठ नागरिक सेवा समाजका केन्द्रीय अध्यक्ष मोहनबहादुर केसीले जेष्ठ नागरिकको हक अधिकारका लागि देशैभर यस्तो समाज गठन गरिएको जानकारी दिए । उनले जेष्ठ नागरिकको जीवन सुरक्षाको ग्यारेण्टी राज्यले लिनुपर्ने भन्दै आफुहरुले लामो समयदेखि यसका लागि संघर्ष गरिरहेको जानकारी दिए ।
जेष्ठ नागरिक सुरक्षा भत्ता बृद्विको मागलाई आफुहरुले निरन्तर उठाइरहेका कारण केही भएपनि सम्वोधन भएको भन्दै अध्यक्ष केसीले जेष्ठ नागरिकहरुका लागि प्रति महिना दश हजार रुपैयाँ सामाजिक सुरक्षा भक्ता दिनुपर्ने माग राखे ।
कार्यक्रममा जेष्ठ नागरिक सेवा समाजका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य गुमानसिंह थापाले सबै नागरिकहरु पछि जेष्ठ नागरिकको रुपमा हुने भएकाले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा सहित सम्मान दिन कसैले कन्जुस्याई गर्न नहुने बताए ।
गल्याङ नगरपालिकाका सामाजिक शाखाका प्रमुख थानपती न्यौपानेले जेष्ठ नागरिकको सामाजिक सुरक्षा र सहयोगका लागि आफुले सक्दो पहल गर्ने वताए । कार्यक्रममा जगत्रदेवी साहित्य संगमका अध्यक्ष सुर्यप्रसाद डुम्रेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
देशभर जेष्ठ नागरिक सेवा समाज नेपाल गठन गर्ने उद्देश्य सहित स्याङ्जाको राम्दीमा समिति गठन गरिएको आयोजकले जनाएको छ । हाल देशभर एक सय १२ ठाउँमा यस्ता समाज गठन गरिएको र केही समय पछि महासंघ बनाउने बनाउने तयारी भएको बताइएको छ ।