स्याङ्जा, ४ मंसिर
वर्षातको समयमा बजेट सक्नकै लागि सडक निर्माणको काम तिब्र गतिमा गर्ने प्रबृत्ति गल्याङ नगरपालिकामा फेरिएको छ । नगरपालिकाबाट खरिद गरिएका तीन वटा डोजरले दैनिक रुपमा सडक निर्माणको काम गरिरहेका मात्रै छैनन्, कामदारहरुको प्रयोग गरी सडक निर्माण गर्ने तथा आवश्यक परेका ठाउँमा पर्खाल उठाउने काम समेत भइरहेको छ । धेरैजसो ग्रामिण क्षेत्रले भरिएको नगरपालिकामा ग्रामिण कच्ची बाटो निर्माणको काम भैरहेको हो ।
गल्याङ नगरपालिकाको मुख्य बजारबाट तुलसीभञ्ज्याङ, बज्रे, तिन्दोवाटे हुँदै साङ्लिया जोड्ने कच्ची बाटो बस सञ्चालनका लागि अन्तिम अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ । केन्द्र सरकारबाट प्राप्त एक करोड रुपैयाँ बजेट बाट अहिले बजार जोड्ने मुख्य भागमा फराकिलो बनाउने काम भैरहेको छ ।
केन्द्रीय बजेट भएपनि नगरपालिकालाई नै कामको जिम्मेवारी दिइएकाले बाटो चौडा गराउने काम भइरहेको नगरपालिकाका इन्जिनियर गणेश पौडेलले जानकारी दिए । यस्तै, गल्याङको तल्लो बजारबाट चोक हुँदै पिडिखोला सेतीवेणी जोड्ने सडकको काम पनि भैरहेको नगरपालिकाले जनाएको छ । यसैगरी गुठी क्षेत्र, करादी – तिन्दोवाटे पकवादी सडकको स्तर उन्नतीको काम पनि भैरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आफ्नै डोजरले तेल खरिद गरि बाटो निर्माणको काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताए । उनका अनुसार अहिलेसम्म कुनै पनि डोजर खाली नरहेको जानकारी दिए । पाण्डेले भने–‘आलोपालो सबै ठाउँमा आवश्यकता हेरेर बाटो निर्माणको काम भैरहेको छ ।’
राजमार्ग हाम्रो काम होइन –नगर प्रमुख
बुटवल पोखरा जोड्ने सिद्वार्थ राजमार्ग साँघुरो तथा घुम्तीहरु भएपनि नगरपालिकाले भने ग्रामिण सडकलाई मात्रै जोड दिएको छ । यस बारे नगर प्रमख भुपराज अधिकारी को धारणा –‘ग्रामिण क्षेत्रमा अझै बाटोको स्तर बढाउन सकिएको छैन, त्यसैले गाउँमा जोड दिइएको हो ।’ उनका अनुसार सिद्वार्थ राजमार्गको स्तर उन्नती गर्ने काम सडक विभागको हो ।
यसका लागि केन्द्रीय सरकारले ध्यान दिनुपर्ने नगर प्रमुख अधिकारीको भनाई छ । ‘नगरपालिकाको आफ्नै कार्यालय भवन निर्माण लगायतका भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था आएको र बजेट थोरै भएकाले हामीले सिद्वार्थ राजमार्गमा लगानी गर्न असमर्थ छौं ।’ नगरप्रमुख अधिकारीले भने –‘यो सडक विभागले गर्ने काम हो ।’ बजेट बढि भए राजमार्ग निर्माणको काम पनि गर्नै नहुने काम नभएको भन्दै उनले अहिले कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय जनताको बढि सरोकारका क्षेत्र हेर्नुपर्ने बताउदै आएका छन् । नगरपालिका अन्तर्गत झण्डै २५ किलोमिटर सिद्वार्थ राजमार्ग पर्दछ ।