नवीन शर्मा
काठमाडौं, कात्तिक २० ।
दशकौं लामो नेपाल–भारत सीमा विवाद फेरि सतहमा आएको छ । नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा औपचारिकरुपमै राखेर प्रकाशित गरेपछि यो गम्भीर बहसको विषय बनेको छ ।
भारतले गत शनिबार नयाँ नक्सा सार्वजनिक गर्नेक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको ३७२ वर्गकिलोमिटर भूमि भारततर्फ पर्न गएको छ ।
नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको थियो । तर, नेपालले यो भागलाई आफ्नो दाबी गर्ने गरेको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नेपाली स्वामित्वको उक्त भू–भागलाई भारतले आफ्नो दाबी गर्दै आएको छ र सो क्षेत्रलाई विवादित क्षेत्रकोरूपमा मानिएको थियो ।
सोही विवाद अन्त्य गर्न दुई देशबीच सचिवस्तरीय संयन्त्रसमेत गठन भएको थियो । २०७२ सालमा भारत र चीनले लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए । त्यतिखेर नेपालले पत्र लेखेर नै भारत र चीनलाई लिपुलेक त्रिदेशीय विन्दु भएको अवगत गराएको थियो ।
गएको भदौमा काठमाडौंमा सम्पन्न पाँचौं मन्त्रिस्तरीय बैठकले पनि थाती रहेका सीमासम्बन्धी विवादलाई विदेशसचिवस्तरीय बैठकबाट टुंग्याउने निर्णय गरको अवस्थामा हठातरुपमा भारतको नयाँ नक्सा सार्वजनिक भएको छ ।
नेपाल सरकारले बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार दाङमा सन्चारकर्मीहरुसँग कुरा गर्दै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले यो विषय नेपालको सार्वभौमसत्तासँग जोडिएको भन्दै भारतसँग छलफल गर्ने बताए ।
यता, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सीमा विवादबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि यसको छिनोफानो गर्न सरकारलाई चौतर्फी राजनीतिक दबाब पनि बढ्दै गएको छ । दशकौंदेखि नसुल्झिएको सीमा विवाद भारतले सार्वजनिक गरेको नयाँ नक्सासँगै थप पेचिलो बनेको छ । इमेज खवर डट.कमवाट