स्याङ्जा २७ भदौ ।
उद्योग वाणिज्य संघ गल्याङको भोली अर्थात शनिवार हुने नयाँ नेतृत्वका लागि निर्वाचनले यतिवेला चुनावी सरगर्मी निकै बढेको छ ।
आगामी नेतृत्वको लागि दुई वटा प्यानल चुनावी मैदानमा देखिएका छन् । बहालवाला उपाध्यक्ष ध्रव श्रेष्ठ लोकतान्त्रीक प्यानलको नेतृत्व र सचिव यज्ञ अर्याल वामपन्थी प्यानलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अहिले दुवैजना प्रत्यासी चुनावी प्रचारप्रसारमा व्यस्त छन् । दुवै जनाले आआफ्नो प्यानल निर्माण गरेपछि गल्याङ उद्योग वाणिज्य संघको अधिवेशनमा राजनैतिक टकराव प्रष्ट देखिएको छ ।
उम्मेदवारहरुले सामाजिक सञ्जालमा फोटो राखेर भोट दिन अपिल गर्न थालेका छन् । आँफुलाई भोट दिएर जिताए उद्योगी व्यवसायीकै पक्षमा लड्ने उनीहरुको भनाई छ । चुनाव अगावै उम्मेदवारका आकांक्षी र व्यवसायीका नेताका हातहातमा मतदाताका नामावली पुगिसकेको छ ।
संघको भोलि हुने निर्वाचन व्यवसायीबीच चर्को राजनीतिक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । ‘अनौपचारिक भेटघाट र मत माग्ने काममा व्यस्त छु, लोकतान्त्रीक प्यानलका अध्यक्ष पदका उमेद्वार धु्रव श्रेष्ठले भनेर्, राजनीति भन्दा माथी रहेर संघको संस्थागत विकासमा लाग्ने मेरो प्यानलको मूख्य ध्येय हुनेछ ।’ इतिहासलाई मूल्यांकन गरेर मत दिन मतदाताहरुलाई आग्रह समेत उनले गरेका छन् । आफूले गल्याङका व्यवसायीका हितका लागी लडिरहेको बताउँदै नेतृत्व पाए अँझै व्यवसायीका हितमा काम गर्ने र यस क्षेत्रको औधोगिक तथा पर्यटनको बिकासमा जोड दिने बताए ।
संघको संस्थागत विकासमा मूख्य एजेण्डा भवन निर्माण देखि, व्यवसायीक हितमा घरवहाल सम्झौता, कर सम्बन्धि विभिन्न समस्याहरु समाधान, औद्योगित तथा पर्यटनको विकास र गल्याङको समग्र आर्थिक विकासमा पहल गर्ने हाम्रो प्रतिवद्दता रहेको बताए । उनले भने, थप गतिशिल उद्योग बाणिज्य संघको निर्माण गर्ने ब्यवसायिहरु पलायन हुन नपर्ने बाताबरणको सिर्जना गर्ने हाम्रो प्रतिवद्दता हो ।’
श्रेष्ठले नेतृत्व गरेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा इन्द्र अधिकारी, उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा कृष्ण प्रसाद भट्टराई, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा नेत्रलाल भुषाल, सह–कोषाध्यक्षमा होमलाल भट्टराई र सदस्यमा गुम प्रसाद थापा (गौतम), नर बहादुर गुरुङ, ऋषी बस्याल, राम प्रसाद रेग्मी र नुमन गहतराज रहेका छन् ।
उता यज्ञ अर्यालको नेतृत्वमा बनेको वामपन्थी प्यानलमा वरिष्ठ उपाध्यक्ष पदकोे लागि हेम कुमारी तरामु उपाध्यक्षमा विष्णु पाठक, महासचिवमा राम प्रसाद सापकोटा, सचिवमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा बहादुर थापा रहेका छन् । सदस्य पदका लागि हिरामणी भण्डारी, चिन्तामणी अर्याल, खिमबहादुर परियार, हुमाकान्त पाठक र पुर्ण चन्द्र बस्याल रहेका छन् ।
वामपन्थी प्यानलले पनि सामुहिकरुपमा गल्याङको अर्थिक सामाजिक विकासलाई मुख्य एजेण्डा लिएर चुनावी मैदानमा होमिएको अध्यक्ष पदका प्रत्यासी यज्ञ अर्यालले वताए । उनले विगतमा नेतृत्व संगको सहकार्यमा भएका धेरै कामले अहिलेसम्म पनि निरन्तरता पाइरहेको र सबै व्यवसायीलाई फाइदा भइरहेको दाबी गरे । त्यसकारण सबै उद्योगी व्यवसायीहरूको सल्लाहबमोजिम अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्दै अबको सफल नेतृत्व छान्न उनले उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
त्यसो त श्रेष्ठ र अर्याल अत्यान्तै मिल्ने साथी हुन । तर, आज संघको नेतृत्वका लागि राजनीतिक सहमती जुट्न नसकेपछि उनीहरू दुवैजना लोकतान्त्रिक विधि अनुसार चुनावी प्रतिस्पर्धामा छन् । श्रेष्ठले विगतमा गल्याङको आर्थिक विकास र सामाजिक विकासमा गरेको योगदान र संघको संस्थागत विकासका लागि लिएको प्रतिवद्धतानै जीतको आधार मानेका छन् भने, अर्यालले आफूले विगतमा संघका गरेको सहकार्य, एकता र व्यवसायीहरुको साझा घर बनाउने प्रतिवद्धता जीतको आधार मानेका छन् ।
दुवैजना विगत लामो समयदेखि गल्याङमा रहेर व्यवसाय गरिरहेका छन् । ध्रुुव श्रेष्ठ फेन्सी व्यवसायी हुन भने, यज्ञ अर्याल किनारा र अटो तथा मोटर पाट्स व्यवसायी हुन् । निर्वाचनका वेला संस्थाको विकासका एजेण्डा लिएर प्रतिस्पर्धामा जुट्नु अत्यान्तै राम्रो हो, तर यसैलाई राजनैतिक टकराव को विषय बनाएर जानु खराव भएकाले संस्थागत हितमा दुवैजनालाई एकदिनको लागि मात्रै प्रतिस्पर्धीको रूपमा हेर्न गल्याङका व्यवसायी तथा स्याङ्जा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले आग्रह गरे ।
भोली शनिवार संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । वर्तमान सरकारको कृयाकलाप र उद्योगी व्यवसायीहरुलाई दिइराखेको झण्झटका कारण लोकतान्त्रीक प्यानललाई निर्वाचन जित्न सजिलो हुने व्यवसायीहरुले दावी गरेका छन् ।