
वालिङ, स्याङ्जा । वालिङ नगरपालिकाले क्षयरोग नियन्त्रण तथा निवारणका लागि सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार २०७५ सालदेखि हालसम्म क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ भने ३ सय ६६ जना नियमित औषधि सेवनपछि निको भएका छन् ।
नगरपालिकाले क्षयरोग मुक्त अभियान अन्तर्गत समुदायस्तरमै खोजपड्ताल, परीक्षण तथा उपचारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेका अनुसार क्षयरोगको जोखिम बढी भएका क्षेत्र र समुदायलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै वालिङ नगर अस्पतालमा ९ सय जनाको क्षयरोग परीक्षण गरिएको अस्पतालका प्राविधिक इश्वर कोइरालाले जानकारी दिनुभयो । हालसम्म ६५ जनाले नियमित औषधि सेवन गरिरहेको तथ्याङ्क नगरपालिकासँग रहेको छ ।
नगरपालिकाले पछिल्लो समय एआई प्रविधिको प्रयोग गरेर पनि क्षयरोग परीक्षण शिविर सञ्चालन गर्न थालेको छ । यस वर्ष वडा नं. १३ मा आयोजित शिविरमा ३ सय जनाको परीक्षण गरिएको थियो । आगामी जेठ २७ गते मिर्दी क्षेत्रमा थप शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
वालिङ नगरपालिकाले पाँच वर्षभित्र नगरलाई क्षयरोग मुक्त बनाउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ । समुदायमा जनचेतना अभिवृद्धि, शंकास्पद बिरामीको परीक्षण, नियमित औषधि सेवन र स्वास्थ्यकर्मी परिचालनमार्फत रोग नियन्त्रणमा जोड दिइएको छ ।
स्वास्थ्यकर्मीका अनुसार गरिबी, बसाइँसराइ, जनचेतनाको कमी, रोग लुकाउने प्रवृत्ति तथा नियमित औषधि सेवन नगर्ने कारण क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । यद्यपि स्वास्थ्य संस्थाबाट क्षयरोगको परीक्षण र उपचार निःशुल्क रुपमा हुँदै आएको छ ।
पुतलीबजारमा उद्दमशिलता तालिम

स्याङ्जा -चैत्र ८ ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा उद्यमी महिला संघ स्याङजाको सहकार्यमा संचालित उद्यमशीलता विकास तथा प्राबिधिक सीप विकास तालिम आइतवार सम्पन्न भएको छ।

एक महिने प्राबिधिक सीप विकास तालिमको समापन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले तालिमको उपयोग गर्दै आयआर्जन बढाउन र आत्मनिर्भर बन्न सुझाव दिए। माछा मारेर दिनु भन्दा माछा मार्ने सीप सिकाउनु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै नगरपालिकाले उद्यम सम्बन्धी धेरै तालिम उपलब्ध गराएको बताए ।
तालिमलाई तालिममा मात्र सिमित राख्न नहुने जनाउदै प्रमुख रेग्मीले साना ठूला उद्योग संचालनगरि रोजगार सृजना गर्न समेत आग्रह गरे। उद्यमीद्धारा उत्पादित सामाग्रीको बजारीकरण र आवश्यक भएमा एडभान्स तालिम पनि उपलब्ध गराउने नगरप्रमुख रेग्मीले प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा निमित्त प्रशासकिय अधिकृत बाबुराम बराल, महिला उद्यमी संघ स्याङजाका अध्यक्ष चन्द्रकला राना, तालिमका सहभागी चन्द्र खाँण र अप्सरा शाह लगायतले तालिमको प्रभावकारिता जोड दिए । पुतलीबजार नगरपालिकाका २८ जना महिला सहभागी थिए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगतको सो तालिममा ब्यवसाय सचेतना तालिम र ब्यवसाय सम्बन्धी ५ हप्ते तालिम दिइएको हो। एक हप्ता उद्यमशीलता सम्बन्धी र एक महिना कढाई तालिम दिइएको हो ।