
वालिङ- ८ चैत्र । स्याङ्जाको वालिङ नगरपालिका मा शिक्षक सरुवा र बढुवामा लाखौं रुपैयाँको चलखेल भएको सनसनीपूर्ण आरोप सार्वजनिक भएपछि स्याङ्जाको शिक्षा क्षेत्रमै तरङ्ग फैलिएको छ।
एक माध्यमिक तहका स्थायी शिक्षक अमृत खनालले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत गरेको खुलासाले स्थानीय तहदेखि प्रशासनसम्म हलचल मच्चाएको छ।
खनालले सार्वजनिक गरेको विवरण अनुसार शिक्षक सरुवा, दरबन्दी मिलान र बढुवाका नाममा १ लाखदेखि ३ लाख रुपैयाँसम्म रकम असुलेको दाबी गरिएको छ। विभिन्न विद्यालयका उदाहरण दिँदै उनले कतिपय निर्णयहरू पैसाकै आधारमा गरिएको संकेत गरेका छन्।
अझ चकित पार्ने कुरा के भने, समग्रमा झण्डै २० लाख रुपैयाँभन्दा बढी आर्थिक चलखेल भएको आरोप उनको सामाजिक संजालमा उल्लेख गरिएको छ।
तर, यो प्रकरणमा अर्को गम्भीर पाटो पनि बाहिर आएको छ। सञ्चारकर्मीसँगको कुराकानीमा खनालले आफूसँग प्रत्यक्ष प्रमाण नभएको स्वीकार गरेका छन्। उनले अन्य शिक्षकहरूले सुनाएको आधारमा आफूले विषय सार्वजनिक गरेको बताएका छन्। यसले आरोपको विश्वसनीयतामाथि प्रश्न उठाए पनि विषयको गम्भीरता झनै बढाएको छ।
खनालले नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी प्रत्यक्ष संलग्न नभएको दाबी गर्दै बिचौलिया मार्फत यस्ता गतिविधि हुने गरेको र त्यसमा नगरपालिकाले सहजीकरण गर्ने भूमिका खेलेको आरोप लगाएका छन्। तर, कथित बिचौलियाको नाम भने उनले सार्वजनिक गरेका छैनन् ।
यसअघि पनि वालिङ नगरपालिका मा शिक्षक सरुवाका विषयमा विवाद हुँदै आएको थियो। कतिपय प्रकरण अदालतसम्म पुगेका थिए, जसले शिक्षा प्रशासनको पारदर्शितामाथि पटक–पटक प्रश्न उठाउँदै आएको छ।
यता नगरपालिकाले भने घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ। शिक्षा शाखाले आरोप लगाउने पक्षलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ भने आवश्यक परे सम्बन्धित सबै पक्षलाई बोलाएर अनुसन्धान अघि बढाइने बताइएको छ।
अब के हुन्छ ?
यो प्रकरणले जिल्ला प्रशासन कार्यालय स्याङ्जा, अख्तियार लगायत निकायको ध्यान खिच्ने देखिएको छ। यदि आरोप प्रमाणित भएमा यो केवल शिक्षक सरुवाको विषय नभई ठूला आर्थिक अनियमितता र भ्रष्टाचारको मुद्दा बन्न सक्छ। भने आरोप लगाउनेले पुष्टि गर्न नसकेमा उनैमाथि पनि कारवाही हुन सक्ने जानकारहरू वताउछन ।
एकातिर प्रमाणविहीन आरोप, अर्कोतिर गम्भीर आर्थिक चलखेलको संकेत – यसबीच सत्य के हो भन्ने अब छानबिनले मात्र पुष्टि गर्नेछ। तर, यस घटनाले शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सुधारको आवश्यकता पुनः उजागर गरिदिएको छ।
के छ खनालले सार्वजानिक गरेको पोष्टमा –
