
स्याङ्जा ४ फागुन । नेपाली काँग्रेस स्याङ्जाले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पूर्वाधार विकासलाई मुख्य एजेण्डा बनाएको छ। विशेषगरी स्याङ्जाको समृद्धिसँग प्रत्यक्ष जोडिएको सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा सडक) लाई ‘डेडिकेटेड टु–लेन’ मा विस्तार गरी निर्धारित समयभित्र सम्पन्न गर्ने योजना अघि सारिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजु थापाले उक्त राजमार्ग जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई सामान्य सडक आयोजना नभई स्याङ्जाको भविष्यसँग जोडिएको परियोजनाका रूपमा लिइएको बताए। “यो सडक बन्नु भनेको स्याङ्जाको भाग्य बदल्नु हो,” उनले भने, “निर्धारित समयमै सम्पन्न गर्न सम्पूर्ण शक्ति र साधन परिचालन गरिनेछ।”
काँग्रेसले अन्तरप्रदेश जोड्ने रणनीतिक सडक, अन्तरजिल्ला तथा अन्तरपालिका जोड्ने सहायक सडकहरूलाई प्राथमिकताका आधारमा सम्पन्न गर्ने योजना अघि सारेको छ। सबै ग्रामीण सडक बाह्रै महिना सञ्चालनयोग्य बनाउने, आवश्यक स्थानमा पक्की पुल वा कजवे निर्माण गरी वडा केन्द्रसम्म कालोपत्रे गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी जलाशययुक्त आँधीखोला बहुउद्देश्यीय विद्युत् आयोजना अघि बढाउने, ‘एक घर एक खानेपानी’ कार्यक्रम सम्पन्न गर्ने, प्रत्येक पालिकामा खेलमैदान र कभर्डहल निर्माण गर्ने तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूमा पहुँच विस्तार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। कृषि पकेट क्षेत्रमा सिँचाइ पूर्वाधार निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रअन्तर्गत कृषि सुपरजोन अवधारणा विकास, कृषक सन्तानलाई विशेष छात्रवृत्ति, सहुलियत ऋण र कृषि बीमाको व्यवस्था तथा कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि नीतिगत पहल गरिने जनाइएको छ।
कार्यक्रममा नेताहरूले पूर्वाधार विकासमार्फत आर्थिक गतिविधि विस्तार गरी स्याङ्जालाई समृद्ध जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यसहित काँग्रेस निर्वाचनमा होमिएको बताएका छन्।