
स्याङ्जा – नेपाली काँग्रेस स्याङ्जामा युवा नेताका रूपमा परिचित भागवत प्रकाश मल्ल समकालीन प्रभावशाली नेताहरूमध्ये एक मानिन्छन्। उनी कर्म, निरन्तरता र जनसम्पर्कका कारण जनताका माझ लोकप्रिय नेता बनेका छन्।
उनको राजनीतिक चेतनाको प्रारम्भिक प्रेरणा पिता गजेन्द्र प्रकाश मल्लबाट आएको देखिन्छ। गजेन्द्र मल्ल स्वयं नेपाली काँग्रेसको राजनीतिमा जिल्ला कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर पार्टीलाई आर्थिक तथा राजनीतिक रूपमा योगदान पुर्याएका व्यक्ति हुन्। जिल्लाका ठूला–ठूला विकास पूर्वाधार निर्माणमा समेत उनको भूमिका स्मरणीय मानिन्छ।
बाबुको यही राजनीतिक र सामाजिक योगदानको प्रभावस्वरूप भागवत प्रकाश मल्लमा सानैदेखि सामाजिक उत्तरदायित्व र राजनीतिक संस्कार विकसित भयो। वि.सं. २०३३ सालमा स्याङ्जाको दुर्गम क्षेत्र शेखाममा जन्मिएका मल्लले वि.सं. २०४८ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गरे। वि.सं. २०५१ सालदेखि नेपाल विद्यार्थी सङ्घमार्फत सक्रिय राजनीतिमा होमिएका उनी क्रमशः संगठन निर्माण र जनसम्पर्कमा अब्बल नेताका रूपमा स्थापित भए।
नेपाल विद्यार्थी सङ्घ हुँदै अगाडि बढेका मल्ल वि.सं. २०७२ सालदेखि नेपाल तरुण दल स्याङ्जाको अध्यक्षका रूपमा निरन्तर क्रियाशील छन्। तरुण दलको नेतृत्व सम्हाल्ने क्रममा उनले युवालाई एकताबद्ध गर्दै सामाजिक सेवामा अग्रसर गराए। खेलकुद, परोपकार, सरसफाइ, वृक्षारोपणजस्ता कार्यक्रममार्फत युवालाई सशक्त बनाउने काममा उनको विशेष भूमिका रह्यो।
खेलकुदप्रति विशेष रुचि राख्ने मल्लले जिल्लाका विभिन्न युवा क्लबहरूलाई आर्थिक तथा संस्थागत सहयोग गर्दै खेल क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्। खेलकुदकै माध्यमबाट युवामा एकता, अनुशासन र लोकतान्त्रिक चेतना विकास गराउने उनको प्रयास व्यापक रूपमा प्रशंसित छ।
वि.सं. २०७४ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ (प्रदेश ‘ख’) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै मल्लले आफ्नो लोकप्रियता प्रमाणित गरे। गण्डकी प्रदेश सभा सदस्यका रूपमा रहँदा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार गठनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।
प्रदेश सभामा रहँदा स्याङ्जाका थुप्रै विकास निर्माणका आयोजना स्वीकृत गराउने र सम्पन्न गराउने कार्यमा उनले दिन–रात नभनी काम गरे। सिंचाइ, खानेपानी, सडक लगायतका आधारभूत पूर्वाधार विकासमा उनको प्रत्यक्ष योगदान रहेको स्थानीयहरू बताउँछन्।
चापाकोट, गल्याङ, कालीगण्डकी र वालिङलाई मुख्य कर्मथलो बनाएर उनले पदमा हुँदा होस् वा नहुँदा—निरन्तर जनसेवामा आफूलाई समर्पित गरे। स्याङ्जामा सहयोग नपुगेका युवा क्लब, आमा समूह वा सामाजिक संस्था विरलै भेटिन्छन्।
वि.सं. २०७८ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसमेत रहेका मल्ल युवा, बालक, वृद्ध—सबै उमेर समूहका बीच लोकप्रिय छन्। उनी धेरै बोल्नेभन्दा काम गरेर देखाउने, भाषणभन्दा परिणाममा विश्वास गर्ने सरल र भुइँमान्छे नेता हुन्।
“भाषणले देश बन्ने भए उहिल्यै बनिसक्थ्यो, अब मुलुकलाई परिणाममुखी काम चाहिएको छ,” भन्ने उनको भनाइले उनको कार्यशैली स्पष्ट पार्छ।
एउटा कुरा भने निश्चित छ—भागवत प्रकाश मल्ल जिते पनि हारे पनि स्याङ्जाका जनताकै बीचमा रहने नेता हुन्। आर्थिक रूपमा पोखरा वा काठमाडौंमा सहज जीवन बिताउन सक्ने हैसियत हुँदाहुँदै पनि उनी स्याङ्जाकै माटोलाई आफ्नो पहिचान ठान्छन्। जनतासँगको दैनिक भेटघाट, सुख–दुःखमा साथ दिनु नै उनको राजनीति हो।
स्याङ्जाको माटो, ढुङ्गा, खोलानाला र प्रकृतिका प्रत्येक अंशसँग उनी परिचित छन्। कुन बाटोमा कहाँ कस्तो रूख छ, कहाँ कस्तो ढुङ्गा छ—सबै उनीभित्र बस्छ। यसले उनी जनताका बीचमा कति गहिरोसँग भिजेका छन् भन्ने स्पष्ट पार्छ।
मर्दापर्दा जन्ती–मलामी बनेर होस् वा विपत्तिमा साथ दिन—मल्लले स्याङ्जाका नागरिकसँग व्यक्तिगत र भावनात्मक सम्बन्ध कायम गरेका छन्। झुपडी र गाउँबस्तीमा ढिँडो, रोटी र भुटेको मकै खाएर रमाउने उनी साँचो अर्थमा गाउँकै नेता हुन्।
आसन्न फाल्गुण २१ गते हुने संघीय निर्वाचनमा स्याङ्जा जिल्ला क्षेत्र नं. २ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भागवत प्रकाश मल्ललाई पार्टीको बलियो र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिएको छ।