
स्याङ्जा २४ माघ । पुतलीबजार नगरपालिका कार्यपालिका सदस्य तथा नेपाली कांग्रेसकी महिला नेतृ सङ्गीता नेपाल अर्यालमाथि साङ्घातिक आक्रमण भएको छ। माघ २३ गते राति करिब ९ः३० बजेको समयमा घर जाने क्रममा अर्याल र उनका श्रीमानमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सुम्रेखोला र राङ्खोलाको बीच भागमा दुई वटा मोटरसाइकलमा आएका समूहले उनीहरूमाथि कुटपिट गर्नुका साथै करिब ४ तोलाको सुनको सिक्री लुटेर फरार भएका थिए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने प्रयोग गरिएका २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनालाई शंकास्पद मान्दै थप अनुसन्धान गरिरहेको जनाएको छ। यस घटनापछि नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति राजु थापा तत्काल घटनास्थल पुगेका थिए। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसँग आग्रह गरेका छन्।
सभापति थापाले निर्वाचनको समयमा कार्यकर्तामाथि भएको आक्रमणको घोर निन्दा गर्दै कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई सजग रहँदै निर्धक्क रूपमा प्रचार–प्रसारमा लाग्न आग्रह गरेका छन्।